संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार न्युयोर्क जाँदै


काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्। उनले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सेप्टेम्बर २२ मा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री शाहको नेतृत्वमा रहने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी हुनेछन्।

यसपटक संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा १४ जना रहनेछन्। यो पछिल्लो समय प्रधानमन्त्रीको नेतृत्वमा महासभामा सहभागी हुन जाने नेपाली प्रतिनिधिमण्डलमध्ये तुलनात्मक रूपमा सानो टोली हो।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा नेपाल फर्किनेछन् भने परराष्ट्रमन्त्री खनाल त्यसको तीन दिनपछि काठमाडौं आइपुग्ने कार्यक्रम छ।