आर्थिक वर्षको पहिलो दुई महिना राजस्वभन्दा खर्च बढी


काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारको राजस्व संकलनभन्दा खर्च करिब १५ अर्ब बढी भएको छ ।

अर्थ मन्त्रालयका अनुसार भदौ मसान्तसम्ममा सरकारले कुल १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ बराबर राजस्व संकलन गरेको छ । अघिल्लो आव २०८२/८३ को तुलनामा यो करिब २६ अर्ब बढी हो । सो आवको भदौसम्म १ खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ राजस्व उठेको थियो ।

चालु आवको भदौ मसान्तसम्ममा सरकारले रु १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख बराबर कुल खर्च गरेको छ । यो खर्च वार्षिक लक्ष्यको नौ दशमलव ४१ प्रतिशत हो ।

भदौमा ९१ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत भदाै १० गतेको बाढीका बाबजुद सरकारले गत वर्षको यसै अवधिमा भन्दा बढी राजस्व संकलन गरेको हो । गत आवको भदौमा ७३ अर्ब ६१ करोड राजस्व उठेको थियो । तर गत वर्ष भदौ अन्तिम साता पनि जेनजी आन्दोलनका कारण राजस्व संकलन केही प्रभावित बनेको थियो ।

तर सरकारले भदाै मसान्तसम्म लक्ष्य बमोजिम राजस्व संकलन गर्न सकेको छैन । भदौसम्ममा कुल २ खर्ब १४ अर्ब ८१ करोड राजस्व उठाउने लक्ष्य थियो ।