नारायण गाउँले ।
बालेनजी,
यो भयानक विपत्तिको मानवीय क्षति त कहिल्यै पूरा हुँदैन । त्यो हाम्रो वशमा पनि छैन । तर देशले अकल्पनीय भौतिक क्षति पनि बेहोरेको छ । एक दर्जन जति जलविद्युत् योजना एकैसाथ क्षतिग्रस्त भएका छन् भने दुई दर्जन बढी पुलमा क्षति पुगेको छ । हजारौँ घरदेखि, सडक, कार्यालय, रोजगारी, व्यवसाय र खेतीयोग्य जमिनसम्म बगेको छ । हजारौँ नागरिक सर्वस्व गुमाएर पाटीमुनि चाउचाउ खाएर जीवित छन् । राजधानीकै सडक सम्पर्क विच्छेद छ । प्रारम्भिक आँकडाले झन्डै ४ खर्बको क्षति भएको देखाएको छ । वास्तविक क्षति यसभन्दा बढी हुन पनि सक्छ । यस्तो क्षतिको आंशिक पूर्तिचाहिं हुनसक्छ ।
हाम्रो आन्तरिक स्रोतले मात्रै यत्रो आर्थिक क्षतिपूर्ति भने सम्भव छैन । यस्तो कठीन बेलामा सरकारभित्र सबैभन्दा उपयोगी र सक्षम व्यक्ति अर्थमन्त्री स्वर्णिम वाग्ले नै हुन् । उनीसँग अन्तर्राष्ट्रिय एक्सपोजर छ, विषयगत ज्ञान र अभिव्यक्ति कौशल छ, कूटनैतिक सुझबुझ छ, अन्तर्राष्ट्रिय मञ्चमा तार्किक संवाद गर्न सक्ने आत्मविश्वास छ, र राष्ट्रिय योजना आयोगमा रहँदादेखिको अनुभव छ । सबैभन्दा ठूलो कुरा, दाताहरूले सहयोग गरे भने त्यो सहयोग कार्यान्वयन गर्न सक्ने संस्थागत र व्यक्तिगत क्षमता नेपालसँग छ कि छैन भन्ने पनि हेर्छन्, स्वर्णिम वाग्लेले त्यसमा विश्वास दिलाउन सक्छन् ।
संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले प्रधानमन्त्रीस्तरीय सहभागिता जनाउने निर्णय राम्रो छ । एकै पटक, एकै ठाउँमा विश्वका धेरै देशसँग आफ्नो चासो र चिन्ता साझा गर्न पाइने यो अवसर आफैँमा धेरै ठूलो हो । स्वर्णिमजीको भूमिका यसमा ठूलो हुन सक्छ, नभए पनि निर्माण गर्ने जिम्मा तपाईंको हो ।
आफ्नो टिममा पक्कै साथी र सहयोगीभन्दा विज्ञ र संस्थागत प्रतिनिधित्वप्रति ध्यान दिनुभएकै होला । मैले नाम देख्न छुटाए पनि स्वर्णिमजी पनि त्यो टिममा हुनुहुन्छ भन्ने विश्वास छ । यदि हुनुहुन्न भने र अझै राख्न मिल्छ भने पुनर्विचार गर्नुहोला ।
महासभाको रोष्ट्रममा उभिएर कार्बन उत्सर्जन र क्लाइमेट चेन्जबारे लिखित मन्तव्य पढ्नु र क्षतिपूर्तिको अमूर्त दाबी पेस गर्नु पनि उत्तिकै आवश्यक होला । तर ठोस परिणामचाहिँ त्यहाँ हुने साइडलाइन भेटघाट, द्विपक्षीय भलाकुसारी र अन्य कूटनैतिक पहलबाट बढी आउन सक्छ । एउटा नयाँ र आश्चर्यजनक अनुहारका रूपमा मञ्चमा तपाईंलाई देख्न र भेट्न चाहने थुप्रै देश छन् । मञ्चमा तपाईं र फ्लोरमा स्वर्णिमजीको संयोग निकै प्रभावकारी बन्न सक्छ ।
२०७२ को महाभूकम्प याद होला । मानवीय क्षति त अपूरणीय थियो । तर भौतिक क्षतिको पूर्तिका लागि जुन प्रयास भयो त्यो निकै सराहनीय थियो । तत्कालीन विज्ञ अर्थमन्त्री रामशरण महतले अद्भुत कौशल र सक्रियता प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय दाता–सम्मेलन नै आयोजना गरेका थिए । करिब ४ खर्बको प्रतिबद्धता इतिहासकै ठूलो थियो । लाखौँ घरको पुनर्निर्माण भएको थियो, दरबार स्कुलदेखि रानीपोखरीसम्म फेरि उठेका थिए । यसपाली बाढीले बगेका कतिपय संरचना त्यही सहयोगले ठडिएका थिए । महतको सुझबुझ, अन्तर्राष्ट्रिय एक्सपोजर र विश्वसनीयतालाई विश्वास नगरिएको भए आज पनि नेपाल भूकम्पपछि उठेको हुने थिएन ।
आज हामीसँग महाभूकम्पको त्यो त्रासद इतिहासमात्रै छैन, त्यसबाट जुरुक्क उठेको अनुभव पनि छ । पुनर्निर्माणको विश्वसनीय ट्रयाक रेकर्ड छ, संसारलाई देखाउन एभिडेन्स छ । स्वयं स्वर्णिम वाग्ले त्यो पुनर्निर्माणसँग कुनै न कुनै रूपले जोडिएर अनुभव र दक्षता हासिल गरेका पात्र हुनुहुन्छ ।
खुसीको कुरा, राहत कोषमा मानवीय सङ्कटसँग लड्न पुग्ने सहयोग जुटेको छ । तर भौतिक क्षति अर्बको होइन, खर्बको छ । त्यसका लागि अभूतपूर्व कूटनीतिक चातुर्य र सक्रियता आवश्यक छ । यो सामान्य युद्ध मैदान होइन । यस्तो बेला आफूसँग भएका सबैभन्दा शक्तिशाली हतियार उपयोग गर्ने हो । तपाईँको शस्त्रागारमा सबैथोक उत्कृष्ट भनेरै राखिएका होलान्, तर यो युद्ध, परिस्थिति, समय र आवश्यकताका सिद्धान्त अनुसार सबैभन्दा उपयुक्त हतियार स्वर्णिम नै हुन् भन्ने मेरो निजी ठम्याइ छ । तपाईंको यात्रा सफल, सार्थक र सुखद रहोस् !

प्रतिक्रिया