पुरानो सोचले नयाँ नेपाल बनाउन सकिँदैनः गृहमन्त्री गुरुङ


काठमाडौं । गृहमन्त्री सुदन गुरुङले पुरानो सोचले नयाँ नेपाल बनाउन नसकिने बताएका छन् । मंगलबार जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको संयुक्त आयोजनामा भएको जेनजी स्मृति दिवस कार्यक्रममा गृहमन्त्री गुरुङले जेनजी आन्दोलनको अपमान गर्ने पुरानो सोच त्याग्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘तीन करोड नेपालीले हामीलाई जिताएर पठाएको हो । अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेको देख्दाखेरि अचम्मै लाग्छ। जेनजी आन्दोलनको अपमान गर्नु भनेको तीन करोड नेपालीको अपमान गर्नु हो । सुध्रिनुस्, अझै पनि समय छ । त्यही पुरानो सोचले नयाँ नेपाल बनाउन सकिँदैन ।’

उनले गतवर्ष भदौ २३ गते आफूहरुलाई सत्ताको लोभ नभएको बताए । उनले भने, ‘भदौ २३ मा सत्ताको लोभ थिएन । सुशासनको लागि हामी जम्मा भएका थियौँ । शान्तिपूर्ण आन्दोलनमा दमन गरियो । अझै पनि २४ गते जल्यो भनेर भनिएको छ । २३ गते देश मरेको दिन थियो । २४ गते देश जलेको भनिएको छ । मान्छे नरहे यो देश कहाँ रहन्छ ?’

उनले जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारले सरकारसँग ठूलो आशा राखेको भन्दै आफूहरूलाई प्राप्त विश्वासलाई निराशामा परिणत हुन नदिने बताए ।

गृहमन्त्री गुरुङले आन्दोलनका क्रममा घाइते तथा शहीद भएका जेनजी युवाहरूको सम्झना अझै पनि आफूलाई भावुक बनाउने बताए ।
उनले आन्दोलनका क्रममा रगताम्य अवस्थामा रहेका घाइतेलाई अस्पताल पुर्याएको र शहीदहरूलाई काँधमा बोकेर पशुपति लैजाँदाको क्षण अझै स्मरणमा रहेको बताए ।

उनले भने, ‘आज ताली चाहिएको छैन, आज हामीलाई आशा चाहिएको छ । यही ठाउँमा बसेर हामीले लड्दै गर्दाखेरी कति भाइहरूलाई उठायौँ, रगतै–रगत भएका भाइबहिनीहरूलाई अस्पताल पुर्याएको स्मरण छ । अझै पनि त्यो रगत मेरो हातमा लागेको रगत तातै महसुस हुन्छ । ती शहीदहरूलाई काँधमा बोकेर पशुपति लैजाँदाको सम्झिँदा अझै पनि यो काँध भारी भइरहन्छ ।’

गृहमन्त्री गुरुङले घाइते जेनजी युवाहरूले आफूबाट ठूलो अपेक्षा राखेको भन्दै उनीहरूको विश्वास पूरा गर्न आफूलाई निरन्तर दबाब महसुस हुने बताए । सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको उनको भनाइ छ । उनले वर्तमान परिवर्तन र देशले प्राप्त गरेको निकासको श्रेय जेनजी आन्दोलनका शहीद, घाइते तथा आन्दोलनमा सहभागी युवाहरूलाई नै जाने दाबी गरे ।

गृहमन्त्रीले जेनजी आन्दोलनलाई पुराना दलका नेताहरूले विभिन्न ढंगले व्याख्या गरेकोप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको इतिहासलाई कसैले परिवर्तन गर्न नसक्ने बताए ।

‘अचम्म लाग्छ, पुराना दलका साथीहरूले आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरिरहनु भएको छ । म उहाँहरू सबैजनालाई भन्न चाहन्छु, त्यो इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन । इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस् ।’