एसीसी प्रिमियर कपमा हङकङसँग नेपाल पराजित


काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले पहिलो हार बेहोरेको छ । मंगलबार भएको खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको हो ।

पराजित भएपनि नेपालले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ । हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रन बनाउँदै अलआउट भयो । इशान पाण्डेले ९० रनको शानदार पारी खेलेपनि नेपालको हार टरेन । यस्तै, आशिफ शेखले ४४, दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ गुलशन झाले २० रन जोडे ।

बलिङतर्फ हङकङका अइजज खानले चार, यसिम मुर्ताजाले दुई तथा किन्चित देवांग सिंह, नुसरुल्ला राणा र अतिकुल इकबालले एक–एक विकेट लिए । त्यसअघि क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन जोडेको थियो ।

नेपालले यसअघि पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो ।