नेपालको विकासमा निरन्तर सहयोग गर्ने एडीबीका अध्यक्षको प्रतिवद्धता


काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डा औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् ।

नेपाल आइपुगेपछि उनले एडीबीले नेपालको विकास, रूपान्तरण तथा दीर्घकालीन आर्थिक वृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । साथै, रोजगारी सिर्जना र नयाँ आर्थिक अवसर विस्तारका लागि आवश्यक पूर्वाधार विकासमा एडीबीले सहयोग जारी राख्ने उनले उल्लेख गरेका छन् ।

एडीबी नेपालको प्रमुख विकास साझेदारमध्ये एक हो । अध्यक्ष कान्डाका अनुसार हाल नेपालमा एडीबीको लगानीमा करिब ३ अर्ब ९० करोड अमेरिकी डलर बराबरका विभिन्न विकास आयोजनाहरू सञ्चालनमा छन् ।

भ्रमणका क्रममा उनले नेपालमा नयाँ सरकारले तय गर्ने विकास प्राथमिकताबारे छलफल गर्ने बताएका छन् । यसका लागि उच्चस्तरीय वार्तामा सहभागी हुन आफू उत्सुक रहेको उनको भनाइ छ ।

नेपाल र एडीबीबीच विगत ६ दशकदेखि कायम सहकार्य र साझेदारी आगामी दिनमा अझ मजबुत हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।