पाल्हीनन्दनका अध्यक्षविरुद्ध ३ करोड ४५ लाख अकुत सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दर्ता


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध साढे तीन करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पदीय मर्यादाविपरीत गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा गुप्ताले करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको पाइएपछि अख्तियारले सोमबार उनीसहित परिवारका अन्य ४ जनाविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार गुप्ताले गाउँपालिका अध्यक्षमा निर्वाचित भएको मिति २०७४ असार २० गतेदेखि २०७९ असार २८ गतेसम्मको ५ वर्षको अवधिलाई जाँच अवधि कायम गरी अनुसन्धान गरिएको थियो । यस अवधिमा गुप्ता र उनको एकाघरको परिवारले विभिन्न कानुनी स्रोतबाट कुल ३ करोड ५१ लाख ५२ हजार ६२० रुपैयाँ आम्दानी गरेको देखिएको छ । तर, सोही अवधिमा गुप्ता र उनको परिवारले ६ करोड ९७ लाख ८१ हजार ७८८ रुपैयाँ खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। उक्त खर्च जग्गा खरिद, बैंक ऋणको साँवा–ब्याज भुक्तानी, अध्ययन, घर निर्माण तथा खरिद, सेयर खरिद, बीमा प्रिमियम भुक्तानी, कम्पनी लगानी र सवारीसाधन खरिदमा गरिएको देखिएको छ ।

गुप्ताको कुल वैधानिक आयभन्दा कुल खर्च तथा लगानी ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँ बढी देखिएको अख्तियारले जनाएको छ । सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी कमाएको उक्त गैरकानुनी सम्पत्ति एकाघरका परिवारको नाममा समेत राखेको पाइएपछि अख्तियारले गुप्ताका परिवारका सदस्यलाई पनि प्रतिवादी बनाएको छ।

गाउँपालिका अध्यक्ष गुप्ताका साथै उनका बुवा बंशराज गुप्ता, आमा धानमती तेली तथा श्रीमतीहरू सुलोचना गुप्ता र शारदा आचार्य गुप्ताविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।