काठमाडौँ । नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका थप दुई पुरातात्विक तथा ऐतिहासिक महत्वका मूर्ति नेपाल फिर्ता ल्याइएको छ ।
पुरातत्व विभागका अनुसार फिर्ता ल्याइएका वस्तुमा १६औँ शताब्दीको काठको नृत्यदेवीको मूर्ति र १३औँ शताब्दीको तामाबाट निर्मित सुनौलो पद्मपाणि लोकेश्वरको मूर्ति रहेका छन् ।

विभागका अनुसार नृत्यदेवीको मूर्ति ललितपुरको पाटनस्थित ईबहाल (ई वहावही) बाट वि.सं. २०४५/४६ मा चोरी भएको थियो। उक्त मूर्ति अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा राखिएको थियो। यस्तै पद्मपाणि लोकेश्वरको मूर्ति काठमाडौंको ठमेलस्थित विक्रमशिला महाविहार (ठवही) बाट १९८० को दशकमा हराएको थियो। उक्त मूर्ति अमेरिकाको क्यालिफोर्नियास्थित बर्कले आर्ट म्युजियममा रहेको थियो ।
न्यूयोर्कस्थित म्यानह्याटन डिस्ट्रिक्ट अटर्नी कार्यालयको ‘एन्टिक्विटिज ट्राफिकिङ युनिट’ले अनुसन्धानका क्रममा दुवै कलावस्तु गैरकानुनी रूपमा नेपालबाट लगिएको पुष्टि गरेपछि गत असार ९ गते (जुन २३, २०२६) न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत प्रेमबहादुर बुढ्थापालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
पुरातत्व विभागले ती कलावस्तुको उत्पत्ति नेपालमै भएको प्रमाणित गरेपछि अन्तर्राष्ट्रिय कानुनअनुसार फिर्ता ल्याउने प्रक्रिया पूरा भएको जनाएको छ ।

विभागका अनुसार सन् १९८६ यता अमेरिका, बेलायत, अस्ट्रिया, चीन, भारत, जर्मनी, अष्ट्रेलिया र इटालीलगायत विभिन्न देशबाट हालसम्म २०३ वटा पुरातात्विक तथा कलात्मक वस्तु नेपाल फिर्ता भइसकेका छन्। तीमध्ये अमेरिकाबाट मात्रै फिर्ता भएका कलावस्तुको संख्या १२७ पुगेको छ।
हाल अमेरिका, फ्रान्स, बेलायत, चीन, अस्ट्रिया र अष्ट्रेलियाबाट थप पुरातात्विक सम्पदा फिर्ता ल्याउन कूटनीतिक पहल जारी रहेको विभागले जनाएको छ।

यस कार्यमा सहयोग पुर्याउने न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावास, म्यानह्याटन डिस्ट्रिक्ट अटर्नी कार्यालय, मेट्रोपोलिटन म्युजियम अफ आर्ट, बर्कले आर्ट म्युजियम, सम्बन्धित मन्त्रालय, न्यूयोर्कस्थित नेवा गुठीलगायत संस्था तथा सम्पदा अभियन्ताप्रति विभागले आभार व्यक्त गरेको छ।


प्रतिक्रिया