नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा


वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा पहिलो पटक ‘हिमोफिलिया उपचार केन्द्र’ (एचटिसी) सञ्चालनमा ल्याइएको छ । हिमोफिलिया सोसाइटी नेपाल तथा नारायणी अस्पताल वीरगञ्जको सहकार्यमा वीरगञ्ज क्षेत्रका हिमोफिलियाका बिरामीको उपचारमा सहजता ल्याउने उद्देश्यले पहिलो पटक आइतबारदेखि सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।

सोसाइटीका अध्यक्ष नवीन ढुङ्गेलका अनुसार यसबाट अस्पतालमा उपचाररत करिब ४० हिमोफिलियाका बिरामीलाई थप सहजता हुने छ । उनले सोसाइटीले उपचारका लागि आवश्यक औषधि पनि हस्तान्तरण गरेको जानकारी दिए । साथै सोसाइटीले स्वास्थ्यकर्मीलाई हिमोफिलिया रोगको पहिचान, उपचार, व्यवस्थापन तथा बिरामीलाई आवश्यक पर्ने ‘फ्याक्टर’ को प्रयोगसम्बन्धी व्यवहारिक प्रशिक्षण पनि दिएको छ ।

नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना भएसँगै मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सिरहा लगायत जिल्लाका हिमोफिलिया तथा अन्य रक्तश्रावसम्बन्धी समस्याबाट पीडित बिरामीले आफ्नै प्रदेशमा सहज रूपमा उपचार सेवा प्राप्त गर्न सक्ने छन् । उनले भने, “हिमोफिलिया भएकाहरु यसअघि सामान्य उपचारका लागि समेत काठमाडौँ जानुपर्ने थियो, बिरामी र परिवारले आर्थिक तथा मानसिक रूपमा ठूलो सास्ती भोग्नुपरेको थियो, अब उपचार सेवा प्रदेशमै उपलब्ध भएसँगै उपचार सहज हुने भएको छ ।”

नेपालमा धेरै हिमोफिलिया बिरामी पहिचान र उपचारको पहुँचभन्दा बाहिर रहेको र आवश्यक औषधिमध्ये करिब ५४ प्रतिशत अभाव रहेको सोसाइटीका उपाध्यक्ष रामकृष्ण बोगटीको भनाइ छ ।

हालसम्म नेपालका १८ सरकारी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना भइसकेको छ । पछिलो जनगणना अनुसार नेपालमा करिव ३ हजार हेमोफिलियायुक्त व्यक्ति रहेको अनुमान छ । तर नेपाल हिमोफिलिया सोसाइटीले अहिलेसम्म नेपामला ७५० जना मात्रै सम्पर्कमा आएको जनाएको छ । जनचेतनाका अभावमा अझै पनि हिमोफिलियाका बिरामी खुलेर बाहिर आउन सकेका छैनन् ।

हिमोफिलिया एक वंशाणुगत रक्तश्रावसम्बन्धी रोग हो । यसमा शरीरमा रगत जमाउन आवश्यक ‘क्लोटिङ फ्याक्टर’ को कमी हुन्छ । यस रोगबाट प्रभावित व्यक्तिमा सामान्य चोटपटक लाग्दा पनि लामो समयसम्म रक्तश्राव भइरहने, जोर्नी सुन्निने तथा शरीरभित्र आन्तरिक रक्तश्राव हुनेजस्ता समस्या देखिन्छन् ।

चिकित्सकका अनुसार हिमोफिलिया वंशाणुगत समस्या पनि हो । तर, कसैमा वंशानणुगत नभएर अन्य कारणले पनि हुन सक्छ । रगतमा विशेष प्रकारको प्रोटिन फ्याक्टरको कमी भए वा सो फ्याक्टरको अनुपस्थिति भएमा रगत जम्न ढिलाई हुन्छ र लामो समयसम्म रगत नरोकिन सक्छ । यही समस्यालाई ‘हिमोफिलिया’ भनिन्छ ।

रक्तस्रावको स्थितिमा हाम्रो शरीरले सो रक्तस्राव रोक्न तीन चरणको कार्य गर्दछ । रक्तस्राव भएको स्थानको रक्तनलीहरूमा सङ्कुचन हुन्छ । प्लेटलेट प्लगको निर्माण हुन्छ । छालामा ‘फाइब्रिन’ जालोको निर्माण भई रक्तस्राव रोकिन्छ ।