काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सांसद वर्षमान पुनले सरकारका मन्त्रीहरूलाई नियन्त्रण गर्न प्रधानमन्त्री बालेन साहलाई आग्रह गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद पुनले मन्त्रीका गतिविधि र अभिव्यक्तिले जनतामा निराशा छाउँदै गएको भन्दै त्यसतर्फ ध्यानदिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । गृहमन्त्रीले गोरखाका मतदातालाई भोट फिर्ता लैजान र ज्वरो आउँदा हेलिकप्टर मगाएर राजधानी मन्त्री सुनिल लम्सालतर्फ इंगित गर्दै सांसद पुनले यस्तो बताएका हुन् ।
उनले भने, ‘एकजना मन्त्री भ्रमणमा जानुहुन्छ, रुघाखोकी लाग्छ, अनि हेलिकोप्टर पठाइन्छ । रेस्क्युको काम हुँदैन । पुनःपस्थापनाको लागि काम हुँदैन र त्यहाँ पुर्याउने सामान पुग्दैनन् तर उहाँलाई सेनाको स्काई ट्रक प्रयोग गरेर काठमाडौं ल्याइन्छ । उहाँलाई के भयो भन्दा घरमा आराम गर्दै हुनुहुन्छ भनिन्छ । यस्तो गैरजिम्मेवार राज्य चल्न सक्छ ? यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु । आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्नुस् ।’
सांसद पुनले विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापनाका विषयमा गृहमन्त्री सुदन गुरुङले सदनलाई जानकारी गराउनुपर्ने बताए । गृहमन्त्री आफ्नो निर्वाचन क्षेत्रमा जानु स्वाभाविक भए पनि अहिले देशभर विपद्का घटना भइरहेकाले सरकारको प्रतिकार्यबारे सदनलाई जानकारी आवश्यक रहेको बताए ।
उनले भने, ‘गृहमन्त्रीज्यू आफ्नो निर्वाचन क्षेत्रमा गइरहनु भएको छ, त्यो राम्रो हो। मतदाताहरूले आफ्नो विगतको प्रतिबद्धताको जवाफ खोज्दछन् । तर उहाँले आफ्नो मत फिर्ता लानु भनिराख्नु भएको छ। तर हामी यहाँ गृहमन्त्रीलाई खोज्दैछौँ ।’
यसैगरी सांसद पुनले दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सरकारी सेवाका लागि नागरिकले लामो समय लाइन बस्नुपर्ने अवस्था देखिएको भन्दै सरकारप्रति प्रश्न उठाए । उनले खाना पकाउने ग्यासको आपूर्ति सहज हुन नसकेको र वर्षको बीचमा समेत उपभोक्ताहरू ग्यासका लागि लाइनमा बस्नुपरेको बताए । त्यस्तै, रासायनिक मल पर्याप्त रूपमा उपलब्ध हुन नसक्दा किसानहरूले पनि लाइन बस्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे ।
‘खाना पकाउने ग्यासको आपूर्ति भइरहेको छैन । वर्षको बीचमा लाइन बसिरहेका छन् उपभोक्ताहरू । अर्कोतिर मल पर्याप्त उपलब्ध छैन, त्यसमा पनि लाइन नै देखिन्छ । पासपोर्टमा पनि लाइन छ,’ पुनले भने।
उनले नयाँ राजनीतिक शक्तिहरूले विगतका सरकारका कमजोरी अन्त्य गर्ने र नागरिकलाई सहज सेवा दिने प्रतिबद्धता गरे पनि व्यवहारमा नागरिकले झन् धेरै क्षेत्रमा लाइन बस्नुपर्ने अवस्था आएको टिप्पणी गरे ।
उनले भने,‘नयाँ पार्टी, नयाँ साथीहरूको स्प्रिट थियो– विगत ३५ वर्षमा लाइन नै लाइन भयो भनिन्थ्यो। आज त झन् थप लाइनहरू– ग्यासमा, खानेपानीमा पनि लाइन, मलमा पनि लाइन, पासपोर्टमा पनि लाइन ।’ नागरिकले कतिवटा क्षेत्रमा लाइन बस्नुपर्ने हो भन्दै उनले सरकारसँग जवाफ मागे । उनले भने, ‘कतिवटा लाइन लाग्नुपर्ने हो जनताले ? नयाँ भनेको लाइन लाग्ने लाइन थप्ने हो? यसमा जवाफ चाहिन्छ।’

प्रतिक्रिया