उत्तरी साइप्रसमा आइभिएफ उपचारमा गलत दाता प्रयोग गरेको आरोप


बीबीसी । उत्तरी साइप्रसमा आइभिएफ उपचारका क्रममा अभिभावकले छनोट गरेका शुक्रकीट वा डिम्बदाताको सट्टा गलत दाता प्रयोग गरिएको आरोप लागेको छ । बीबीसीको अनुसन्धानअनुसार कम्तीमा ३० जना बालबालिका गलत दाता प्रयोग गरी जन्मिएको आशंका गरिएको छ । तीमध्ये अधिकांश बेलायती नागरिकका सन्तान हुन्।

प्रभावित अभिभावकहरूले आफूहरूले दाताको स्वास्थ्य इतिहास, शारीरिक बनावट, व्यक्तित्व, शिक्षा तथा रुचिजस्ता विवरणका आधारमा सावधानीपूर्वक दाता छनोट गरेको बताएका छन् । तर उपचारपछि आफ्ना सन्तानमा फरक आनुवंशिक वंशावली देखिएपछि उनीहरूले आफूले छनोट गरेको दाता प्रयोग नगरिएको आशंका गरेका हुन्।

बीबीसीका अनुसार ३० मध्ये आधा बालबालिका डोग आइभिएफ सेन्टरबाट गरिएको उपचारपछि जन्मिएका हुन्। उक्त क्लिनिकमा धेरै बिरामीको उपचार तथा समन्वयमा डा. फिर्देभ्स उगुज टिप, डा. सेभकेट अल्पतुर्क र बिरामी समन्वयकर्ता जुली हडसन संलग्न थिए।

अभिभावकहरूले ती कर्मचारीले आफूहरूलाई दाताको विषयमा भ्रममा पारेको हुन सक्ने आरोप लगाएका छन्। फिर्देभ्सले भने कुनै गलत काम नगरेको दाबी गरेकी छन्। अल्पतुर्क र हडसनले बीबीसीका प्रश्नको जवाफ दिएका छैनन्।

बीबीसीले विश्वकै ठूलो शुक्रकीट बैंकले सन् २०१६ देखि डोगुस क्लिनिकलाई कालोसूचीमा राखेको तथ्य पनि फेला पारेको जनाएको छ । उत्तरी साइप्रसमा युरोपेली संघका कानुन लागू हुँदैनन् र यस क्षेत्रलाई टर्कीबाहेक अन्य देशले कानुनी रूपमा मान्यता दिएका छैनन् । यहाँका आइभिएफ क्लिनिकहरूमा नियमन कमजोर रहेको र कम शुल्क, उच्च सफलता दर तथा विभिन्न देशका दाता छनोट गर्न सकिने सुविधा भन्दै विदेशी बिरामी आकर्षित गर्ने गरिएको बीबीसीले जनाएको छ।

विदेशमा प्रजनन उपचार गराउन चाहने बेलायती नागरिकका लागि उत्तरी साइप्रस प्रमुख गन्तव्य बनेको छ । बीबीसीले यसअघि मार्चमा यस्तै घटनाका सातवटा मामला सार्वजनिक गरेको थियो ।

त्यसपछि उत्तरी साइप्रसको स्वास्थ्य मन्त्रालयले घटनाबारे आधिकारिक अनुसन्धान सुरु गरेको जनाएको थियो । तर अनुसन्धानको प्रगतिबारे बीबीसीले पटक–पटक गरेको प्रश्नको मन्त्रालयले जवाफ दिएको छैन ।  ३० मध्ये ११ बालबालिकाले व्यावसायिक डिएनए परीक्षण गराएका छन्। परीक्षणमा उनीहरूको आनुवंशिक वंशावली टर्की वा आसपासका क्षेत्रसँग सम्बन्धित रहेको देखिएको छ। यसले अभिभावकले छनोट गरेका दाता प्रयोग नगरिएको हुन सक्ने आशंका थप बलियो बनाएको छ।