मेची भन्सारबाट आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात


भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९.८० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो ।

चालु आवको १० महिनाको अवधिमा ४ हजार १५३.१५ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए। अघिल्लो आव २०८१/८२ को सोही अवधिमा ५ अर्ब ३८ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको उनले बताए।

कार्यालयको तथ्याङ्क अनुसार चालु आवको १० महिनामा चियाको निर्यात २६.७० प्रतिशतले घटेको छ । उक्त अवधिमा २ अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात भएको छ । आव २०८१/८२ को सोही अवधिमा ३ अर्ब १६ करोड ६२ लाख १३ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए।

कार्यालयको तथ्याङ्क अनुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ९१.१० प्रतिशत, छुर्पी ६३.३० प्रतिशत, अदुवा, सुठो १ सय १.८० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६.१० र मुसुरो दाल ३१६.२० प्रतिशत, जडीबुटी ९२.९ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी प्लाउड ४०.९० प्रतिशत, अम्रिसो २४.९० प्रतिशतले कमी आएको छ । मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्त सम्ममा १६ अर्ब ३ करोड १५ लाख ८३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।