‘सभामुखज्यू भन्हुन्छ ‘मर्यादा’मा बस्नुस्, ३७ दिनसम्म मैले राखेको धैर्यता र सहनशीलता चाहिँ मर्यादा भित्र पर्दैन ?’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सभामुखले ‘मर्यादामा बस्न’ दिएको निर्देशनप्रति असन्तुष्टि जनाएकी छन् । सामाजिक संजालमार्फत सांसद तामाङले पीडित परिवारको विषय लिएर आफूले लामो समयदेखि विभिन्न निकाय धाउँदा देखाएको धैर्य र सहनशीलता पनि मर्यादाभित्रै रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘सभामुखज्यू भन्नुहुन्छ– ‘मर्यादामा बस्नुस्।’ तर ८ दिनसम्म मैले राखेको धैर्यता र सहनशीलता चाहिँ मर्यादाभित्र पर्दैन र ? पीडितकी श्रीमती र बुवालाई लिएर कहिले मन्त्रालय, कहिले प्रधानमन्त्रीको सचिवालय, कहिले काउन्सिलर कहाँ पुगेँ, त्यो पनि यही ८ दिनभित्र हो।’

उनले सभामुखले जे निर्देशन दिए पनि ‘हस्’ भन्दै टाउको हल्लाएर बस्ने कुरा आफूलाई स्वीकार्य नहुने बताइन्।
‘मर्यादा भनेको सभामुखज्यूले जे भन्नुहुन्छ, ‘हस्’ भनेर टाउको हल्लाएर बस्नु मेरो लागि कदापि स्वीकार्य हुने छैन,’ उनले भनिन्।

उनले आफूले सभामुखको आलोचना गर्न नभई जनताको मुद्दामा सरकारको जवाफदेहिता खोजेको स्पष्ट पारिन् । उनले भनिन्, ‘हिजो प्रतिपक्षले बिना कारण सभामुखज्यूको आलोचना गर्दा सबैभन्दा अगाडि नियमापत्ति गर्ने पनि मै थिएँ। आज जनताको मुद्दामाथि काममा ढिलासुस्ती हुँदा सदनमा सभामुखज्यूमार्फत जवाफ मात्र खोजेको हुँ ।’

उनले सरकारले जनताका हरेक मुद्दामा जवाफदेही हुनुपर्ने बताइन् । “सरकार भनेको जनताको हरेक मुद्दाको जवाफदेहिता लिनुपर्ने निकाय हो,” उनले बताइन्।