तम्घासबाट बुर्तिबाङसम्म निर्माण भएको १३२ केभी प्रसारणलाइनको परीक्षण सुरु


गुल्मी । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ । बुर्तिबाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो ।

गुल्मीको रेसुङ्गा नगरपालिकाअन्तर्गत वडा नं ७ को उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ सवस्टेसनसम्मको प्रसारण लाइनमा १३२ हजार भोल्ट क्षमताको विद्युत् परीक्षण र विद्युत् प्रवाह गरिने प्राधिकरणले जनाएको छ ।

उक्त प्रसारणलाइन आजदेखि दुई दिनसम्म परीक्षण गरेपछि मात्र नियमित सञ्चालन गरिने तयारी गरिएको विद्युत् प्राधिकरणका आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिए । प्राधिकरणद्वारा गुल्मीको रेसुङ्गा नगरपालिका– ३, ४ र ५, इस्मा गाउँपालिका– २ तथा मुसिकोट नगरपालिका– १, २ र ३ हुँदै बागलुङको बडिगाड गाउँपालिका– २, ५, ६ र ७ र ढोरपाटन नगरपालिका– २ बुर्तिबाङसम्म विस्तार गरिएको उनले बताए ।

प्राधिकरणले उच्च भोल्टेजका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई प्रसारणलाइनको टावरमा नचढ्न, तार वा संरचनालाई नछुन, टावर वरिपरी नजान तथा घरेलु जनावर बाहिर नछाड्न आग्रह गरेको छ । खतराको संकेत गरिएका संरचनाबाट टाढा रहन र बालबालिकालाई सचेत गराउन अनुरोध गरिएको छ । परीक्षणका क्रममा झिल्का (स्पार्क) देखिएमा वा अन्य जोखिम महसुस भएमा नजिकको प्रहरी चौकी वा प्राधिकरणको कार्यालयमा जानकारी गराउनसमेत आग्रह गरिएको छ ।

प्राधिकरणका अनुसार यस आयोजनाको निर्माण ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतमा सम्पन्न भएको आयोजना प्रमुख चौधरीले जानकारी दिए । आयोजना सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत् आपूर्ति थप विश्वसनीय र सुदृढ हुने अपेक्षा गरिएको उनले बताए ।

कपिलवस्तुको मोतिपुर सवस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर र मुसिकोटको पौदीअमराई भएर बुर्तिबाङसम्म विद्युत् प्रवाह हुने व्यवस्था मिलाइएको आयोजना प्रमुख चौधरीले बताए ।

यसअघि बुटवलमा रहेको सवस्टेसनबाट लामो दूरीमा जिल्लामा विद्युत् आपूर्ति हुँदा पटकपटक सेवा अवरुद्ध हुने गरेको थियो । नयाँ प्रसारणलाइन र सवस्टेसन सञ्चालनमा आएसँगै ती समस्या समाधान भई जिल्लामा सहज र दीर्घकालीन रूपमा विद्युत् सेवा नियमित हुने विश्वास गरिएको छ ।