करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण


काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई दर्ता अभिलेखीकरण गरेको छ ।

सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने देशभरका सम्पूर्ण सहकारीलाई दर्ता अभिलेखीकरण सुरु गरेको हो ।

संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्र बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी संस्थाको नियमन, अनुगमन र सुपरीवेक्षण गर्ने प्रमुख जिम्मेवारी प्राधिकरणलाई दिइएको छ ।

ती सहकारीले प्राधिकरणमा दर्ता अभिलेखीकरण नगरी कारोबार गरेमा त्यसलाई गैरकानुनी मानिने तथा उनीहरूको वासलात परीक्षण, नवीकरण प्रक्रिया रोकिने भएकाले प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई कर्जा सूचना केन्द्रको सदस्यता लिनसमेत निर्देशन दिइएको छ ।

प्राधिकरणका निर्देशक केशव भट्टराईका अनुसार सहकारी ऐन २०७४ को दफा ८१ अनुसार बचत तथा ऋण सहकारी संस्थाले कर्जा सूचना केन्द्रमा आबद्ध भएर सूचना आदान–प्रदान गर्नुपर्ने व्यवस्था छ ।बचतकर्ताको निक्षेप सुरक्षणका लागि तथ्यांक व्यवस्थापन प्रणाली र ऋण कारोबारसम्बन्धी सूचना आदान–प्रदानको व्यवस्था गरिएको उनले जानकारी दिए ।

सहकारी ऐनअनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरी कर्जा कारोबारसम्बन्धी सूचना नियमित आदान–प्रदान गर्नुपर्ने उल्लेख छ ।