मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने मेरो राजनीतिक संस्कार छैन


काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले टिकट वितरणको ’क्याल्कुलेसन’ लाई हामीले पार्टी हितका लागि कुनै विरोध नगरी स्वीकार गरेको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जित्ने आधार नभएकाले पाण्डेलाई टिकट नदिएको भनाईको सन्दर्भमा शनिबार सामाजिक संजालमार्फत उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘निर्वाचनको यस संवेदनशील घडीमा पार्टीलाई एकढिक्का बनाउनु हाम्रो मुख्य जिम्मेवारी हो; यस्तो बेला नेतृत्वका अभिव्यक्तिहरूले कार्यकर्ताको मनोबल घटाउने होइन, बरु सबैलाई जोड्ने ऊर्जा प्रदान गर्नुपर्छ। आफ्नै सहयोद्धाहरूलाई सार्वजनिक रूपमा न्युनिकरण गर्नुभन्दा संस्थागत निर्णय र सामूहिक विचारको जगमा उभिएर बाह्य चुनौतीको सामना गर्नु नै राजनीतिक परिपक्वता हो। टिकट वितरणको ’क्याल्कुलेसन’ लाई हामीले पार्टी हितका लागि कुनै विरोध नगरी स्वीकार गर्यौं, तर एमालेलाई जिताउने हाम्रो साझा संकल्पमा पूर्वाग्रही टिप्पणीले कुनै सकारात्मक अर्थ राख्दैन। मेरा लागि वैचारिक असहमति राख्ने साथीहरू पनि उत्तिकै आदरणीय एमाले हुन् र मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने मेरो राजनीतिक संस्कार छैन। तसर्थ, टिप्पणीहरूको व्यर्थ खण्डनमा अल्झिनुभन्दा म अहिले एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिइसकेको छु।’