अल्ट्रा म्याराथन सम्पन्न गर्न  विभिन्न समिति गठन


दमौली । तनहुँको व्यास नगरपालिकाले आगामी माघ १६ गते आयोजना गर्ने अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरेको छ । 


व्यास नगरपालिका नगर कार्यपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले व्यास नगरपालिका–५ मानुङकोटबाट व्यास नगरपालिका–८ पुलिमराङ सहिद पार्कसम्मको ४४ किलोमिटर अल्ट्रा म्याराथनका लागि विभिन्न समिति गठन गर्ने निर्णय गरेको हो । म्याराथनका लागि नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । 


त्यस्तै, नगर उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा अनुगमन समिति, नगर खेलकुद समितिका अध्यक्षको संयोजकत्वमा व्यवस्थापन समिति, धावक दर्ता तथा प्रशिक्षण संयोजन समिति, मञ्च तथा रुट व्यवस्थापन समिति, प्रचारप्रसार व्यवस्थापन समिति, यातायात व्यवस्थापन समिति र धावक स्कर्टिङ व्यवस्थापन समिति गठन गरिएको छ ।


मगर समुदायको बसोबास रहेको मानुङकोट र गुरुङ समुदायको बसोबास रहेको सहिदभूमि पुलिमराङ जोड्ने अल्ट्रा म्याराथनले नगरपालिकाका छ वडालाई प्रत्यक्ष जोडेको छ । 


व्यास नगरपालिका–५ मानुङबाट सुरु हुने म्याराथन व्यास–३, व्यास–४, व्यास–१०, व्यास–७ हुँदै व्यास–८ मा पुगेर टुङ्गिनेछ । प्रत्येक वर्ष हुँदै आएको म्याराथन प्रतियोगिताले दुई पर्यटकीय गाउँको विकासमा सहयोग पुगेको नगरप्रमुख न्यौपानेले बताए ।


प्रत्येक वर्ष धावकलाई दौडाउने मात्रै नभई यहाँको पर्यटन र संस्कृतिका बारेमा प्रचारप्रसार गर्नु उद्देश्य रहेको उनको भनाइ छ । उनले भने, “खाली खेलाडीलाई दौडाउन मात्र होइन, यस ठाउँको प्रचारप्रसार गर्दै विकास अभियानमा सङ्घ र प्रदेश सरकारलाई जोड्न चाहेका छौँ । मानुङकोटसम्म पुग्न कालोपत्र सडक भए पनि पुलिमराङमा अझै पनि कच्ची सडक छ । त्यहाँको बाटो पनि कालोपत्र गर्ने लक्ष्य राखेका छौँ ।”

मानुङकोट पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भइरहेको छ । यहाँबाट देखिने कुहिरो र सूर्योदय दृश्य हेर्नका लागि सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् । 


व्यास नगरपालिका–५ मानुङबाट सुरु हुने म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिनेछ ।


प्रतियोगितामा प्रथम हुनेलाई  ८५ हजार ८२, द्वितीय हुनेलाई ६५ हजार ८२, तृतीय हुनेलाई ५५ हजार ८२, सान्त्वना हुने पाँच जनालाई जनही  १६ हजार ८२ नगद पुरस्कार प्रदान गरिनेछ ।