काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाडेर अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
बुधबार काठमाडौँमा पत्रकारहरुसँगको अन्तरक्रियामा पोखरेलले सहमतिका लागि अध्यक्ष ओलीले इच्छाशक्ति देखाउनुपर्ने बताएका हुन् । उनले ओलीले चाहेमात्र नेतृत्वमा सहमति हुन सक्ने बताए । पोखरेलले महाधिवेशन हलमा ओलीले नेतृत्वको घोषणा गर्नुपर्ने बताए ।
उनले भने, ‘अहिलेको सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिकामा बस्ने र उहाँले महाधिवेशन हलमा औपचारिक ढंगले अबको नेतृत्व फलानो हो भनेदेखि सहमति हुनसक्छ । नत्र अरु हिसाबमा सहमति हुन्छ जस्तो मलाई लाग्दैन।’
पोखरेलले आफूले कुनै झोंकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताए । उनले भने, ‘यो उम्मेदवारी कुनै झ्वाँक झ्वाँकमा गरिएको विषय होइन । हामीले पार्टीको बैठकमा औपचारिक रुपले जानकारी पनि गराएको हो ।’
उनले पार्टी जीवनमा कार्यसम्पादन शैली त्रुटिपूर्ण हुँदै जाँदा समस्या बनेको बताए । उनले ओलीले जेनजी आन्दोलनको छानबिन गर्न गठित आयोगमा उपस्थित भएर बयान दिनुपर्ने बताए ।
उनले भने, ‘बयान दिन जाने कुरा स्वाभाविक हो। म भएको भए अझै अगाडि नै गएर बयान दिन जाने थिएँ। त्यसको अवज्ञाले राम्रो गर्दैन ।’
पोखरेलले कानुनको सम्मान सबैले गर्नुपर्ने बताए । उनले भने, ‘आयोगको अध्यक्ष जसलाई बनाइयो, उहाँले जसरी आफूलाई मान्यताको रूपमा उभ्याउनुभयो, त्यसमा प्रश्न पनि छ। तर, आयोगमा बयान दिन जाने, लागेको कुरा र तथ्यहरू प्रस्तुत गर्न जानुपर्छ र हाम्रो अध्यक्ष पनि जानुहुन्छ भन्ने मलाई लाग्छ ।’

प्रतिक्रिया