धनुषा । दशैंको मुखमा तलब–भत्ता नपाएको भन्दै बिदेह नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको समस्याप्रति चिन्ता व्यक्त गरिएको छ। तलब–भत्ता नपाएपछि जनप्रतिनिधिले नगरपालिकाको कार्यालयमा ताल्चा लगाएर प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र र चाबी बुझाउनुपर्ने अवस्था आएको भन्दै समस्या समाधानका लागि पहल गर्न माग गरेका छन् ।
बिदेह नगरपालिकाका प्राविधिक इन्जिनियर धर्मेन्द्र कुमार गोइतले जनप्रतिनिधि तथा कर्मचारीले समयमै पारिश्रमिक नपाउनु दुःखद भएको बताएका छन् । उनले यस समस्याले कर्मचारी र जनप्रतिनिधिलाई मात्र नभई नगरपालिकाबाट सेवा लिने सर्वसाधारणलाई समेत प्रत्यक्ष असर पार्ने उल्लेख गरेका छन्।
उनका अनुसार कर्मचारीले पारिश्रमिक नपाउँदा दैनिक घरखर्च व्यवस्थापनमा समस्या हुने तथा नगरपालिकाको सेवा प्रवाह र विकास निर्माणका कामसमेत प्रभावित हुन सक्छन्।
गोइतले नगरपालिकाको प्रशासनिक व्यवस्थापन सुधार गर्न सक्षम, अनुभवी, इमानदार र जनमुखी प्रमुख प्रशासकीय अधिकृतको आवश्यकता औँल्याएका छन्। कर्मचारीको समस्या बुझ्ने, जनप्रतिनिधिसँग समन्वय गर्ने र नागरिकलाई सहज सेवा उपलब्ध गराउन सक्ने नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।
उनले बिदेह नगरपालिकामा सुशासन कायम गर्न, कर्मचारीले समयमै पारिश्रमिक पाउने व्यवस्था गर्न तथा विकास निर्माणका कामलाई निरन्तरता दिन सम्बन्धित पक्षले पहल गर्नुपर्नेमा जोड दिएका छन्।
नगरपालिकामा देखिएको समस्या समाधान गरी प्रशासनिक कामकाज नियमित बनाउन र जनताले सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्नुपर्ने गोइतले बताएका छन्।

प्रतिक्रिया