काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनले मागगरे अनुसारको रुपान्तरण र पुनर्गठन सहितको एकीकरणको रुपमा अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक हुने बताएका छन् ।
बुधबार सामाजिक संजालमार्फत श्रेष्ठले नेकपा (माओवादी केन्द्र ) र नेकपा (एकीकृत समाजवादी ) को पार्टी एकता प्रक्रियालाई पनि यही कोणबाट हेरिनुपर्ने बताएका हुन् । उनले हतार गरेर न समग्र एकता न सार्थक पुनर्गठनको स्थिति बन्न नहुने बताएका छन् ।
उनले भनेका छन्, ‘नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक–सांस्कृतिक रुपान्तरण, एकीकरण र पुनर्गठन आजको आवश्यकता हो र त्यस दिशामा सार्थक पहल समयको निर्देश हो । तर एकीकरण प्रक्रियालाई समग्र कम्युनिष्ट आन्दोलनले मागगरे अनुसारको रुपान्तरण र पुनर्गठन सहितको एकीकरणको रुपमा अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ । हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को पार्टी एकता प्रक्रियालाई पनि यही कोणबाट हेरिनु पर्दछ ।हाम्रो पार्टीले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता गर्न पहल गर्ने निर्णय गरेको हो । तर यो एकता प्रक्रियाले समग्र कम्युनिष्ट आन्दोलनको रुपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दुको भूमिका खेल्न सक्नुपर्छ र सम्बन्धित पार्टीहरु विभाजित भएर होइन समाष्टिरुपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्छ । त्यस निम्ति धैर्यतापूर्वक प्रयत्न गरौं । हतार गरेर न समग्र एकता न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत होऔं ।’

प्रतिक्रिया