काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रका विगतका तिक्तता बिर्सेर भावनात्मक रूपमा एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि सामाजिक संजालमार्फत आभार व्यक्त गर्दै पौडेलले महाधिवेशनमा अभिव्यक्त मतले सबैलाई एकताबद्ध भएर अघि बढ्न स्पष्ट सन्देश दिएको बताएका हुन्।
उनले आफूलाई महामन्त्रीको जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, आम मतदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन्। मतदाताले व्यक्त गरेको विश्वासलाई आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो पुँजीका रूपमा लिएको उल्लेख गर्दै उनले आगामी दिनमा सबैको सल्लाह र सुझावलाई आत्मसात् गर्दै बलियो, गतिशील र एकताबद्ध पार्टी निर्माणमा समर्पित रहने प्रतिबद्धता जनाएका छन्।
पौडेलले आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा लिनुपर्नेमा जोड दिँदै प्रतिस्पर्धाका क्रममा उत्पन्न तिक्तता बिर्सेर कांग्रेसलाई एकढिक्का बनाउन सबैले सङ्कल्प गर्नुपर्ने बताएका छन्।
मुलुकका जटिल समस्या समाधानमा नेपाली कांग्रेसले विगतमा खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै उनले वर्तमान राजनीतिक तथा आर्थिक चुनौती सामना गर्न सक्ने समयसापेक्ष पार्टी निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
कांग्रेसलाई आम नागरिकको सुखदुःखको साथी बनाउँदै जनजीविका र लोकतन्त्रको रक्षा गर्ने गतिशील, जनमुखी र भरोसायोग्य शक्तिका रूपमा रूपान्तरण गर्नु अबको मुख्य बाटो भएको उनको भनाइ छ। महाधिवेशन सफल बनाउन अहोरात्र खटिने सबैप्रति पनि पौडेलले आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया