हारले रूपान्तरणको संकल्प कमजोर बनाएको छैनः सुनिल शर्मा


काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिलकुमार शर्माले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

महामन्त्री पदको निर्वाचनमा प्रतिस्पर्धा गरेका शर्माले निर्वाचन परिणामले आफ्नो राजनीतिक जिम्मेवारी र पार्टी रूपान्तरणप्रतिको संकल्प कमजोर नबनाएको बताएका छन्। बरु, यसले अझ परिपक्वता, दृढता र जिम्मेवारीबोधका साथ अघि बढ्न प्रेरणा दिएको उनको भनाइ छ।
निर्वाचनमा पराजित भएपछि शर्माले उम्मेदवारी कुनै पद प्राप्त गर्ने आकांक्षा मात्र नभई नेपाली कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने संकल्पको अभिव्यक्ति भएको उल्लेख गरेका छन्।

महान् नेता बीपी कोइरालाको विचार, लोकतान्त्रिक मूल्य–मान्यता र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै पार्टी र जनताबीचको सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता कायमै रहेको उनले बताएका छन्।

महामन्त्रीको निर्वाचनमा आफूलाई विश्वास गरी अमूल्य मत प्रदान गर्ने देश तथा विदेशबाट आएका महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गर्दै शर्माले आफ्नो अभियानमा अहोरात्र खटिएका अग्रज, साथी, सहयात्री र शुभेच्छुकलाई पनि धन्यवाद दिएका छन्।

उनले आफूलाई प्राप्त माया, विश्वास र साथलाई अमूल्य सम्पत्तिका रूपमा लिएको उल्लेख गरेका छन्। पदमा रहेर वा नरहेर पनि पार्टी र देशका दूरदराजमा बसोबास गर्ने नागरिकको सेवामा समर्पित रहने उनको प्रतिबद्धता छ।

कांग्रेसभित्र सकारात्मक परिवर्तन, सुदृढ संगठन र जनउत्तरदायी राजनीतिक संस्कार स्थापनाका लागि आफ्नो प्रयास र सक्रियता निरन्तर जारी रहने शर्माले बताएका छन्।

आफूलाई समर्थन गर्ने प्रतिनिधिहरूको प्रत्येक मत र विश्वासलाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै उनले निर्वाचनमा प्रतिस्पर्धा गरेका सबै नेता, निर्वाचित पदाधिकारी तथा पार्टीका कार्यकर्तासँग सहकार्य गरेर पार्टी र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जनताको सेवा र देशको समुन्नतिका लागि निरन्तर अघि बढिरहने उल्लेख गर्दै शर्माले लोकतान्त्रिक प्रतिस्पर्धालाई पार्टीको जीवन्तताको आधारका रूपमा लिएका छन्।