विप्लवलाई प्रश्नः अरू पार्टीलाई भोट हाल्न लगाएर माओवादीलाई किन हराउन लागेको ?


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकताको लागि वार्ता भइरहेका बेला दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुको कारण माग गरेका छन् ।

बुधबार सामाजिक संजालमार्फत दाहालले वार्ता टोलीमा नाम र चुनाव चिन्हको बारेमा छलफल निष्कर्षमा पुग्नै लाग्दा छलफलमा आएको नाम लिएर निर्वाचन आयोगमा दल दर्ताको निवेदन किन दिएको भन्दै प्रश्न गरेका हुन् ।

उनले भनेका छन्, ‘अत्यधिक केन्द्रीय सदस्य एकताको पक्षमा हुदाहुँदै एकता नगरी फेरि त्यही अवस्था सृजना गर्न खोजेको हो ? वार्ता टोलीमा नाम र चुनाव चिन्हको बारेमा छलफल र निष्कर्षमा पुग्नै लाग्दा छलफलमा आएको नाम लिएर निर्वाचन आयोगमा दल दर्ताको निवेदन किन दिएको ? नामको प्रस्तावक को हो, त्यो त अवगत नै होला ।’

उनले विचार मिल्नेसँग एकताको लागि वार्ता जारी रहँदारहँदै विना जानकारी ओलीजीसँग पनि एकताको लागि संवाद किन शुरू गरेको ? भन्दै विप्लवलाई प्रश्न गरेका छन् ।

मंगलबार विप्लवले ‘कम्युनिष्ट पार्टी नेपाल’ नाम राखेर निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । विसं २०७७ फागुन २० गते सरकारसँगको सहमतिपछि विप्लव समूह तत्कालीन अर्धभूमिगत अवस्थाबाट मूलधारको राजनीतिमा आएको थियो ।

यस्तो छ दाहालको भनाई

अन्ततः यही बाटोमा आउनु थियो भने जन विश्वास आर्जन गरेको एकतावद्ध र मजबुत केन्द्रीकरण भएको पार्टी किन विभाजित गरेको ? नेता, कार्यकर्ता र जनताको मनोविज्ञान किन विभाजित गरेको ? श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड लगायत माओवादीका नेताहरूलाई मार्न वम किन बिछ्याएको ? अरू पार्टीलाई भोट हाल्न लगाएर माओवादीलाई किन हराउन लागेको ? आफ्नै पार्टीको केन्द्रीय समितिको बहुमत केन्द्रीय समिति सदस्यको निर्णय अस्वीकार गरी लेनिनवादी सङ्गठनात्मक पद्दतिलाई अस्वीकार गर्दा (नेकपा बहुमत )बनाउनु पर्ने बाध्यता किन सृजना गरेको ?

अत्यधिक केन्द्रीय सदस्य एकताको पक्षमा हुदाहुँदै एकता नगरी फेरि त्यही अवस्था सृजना गर्न खोजेको हो ? वार्ता टोलीमा नाम र चुनाव चिन्हको बारेमा छलफल र निष्कर्षमा पुग्नै लाग्दा छलफलमा आएको नाम लिएर निर्वाचन आयोगमा दल दर्ताको निवेदन किन दिएको ? नामको प्रस्तावक को हो, त्यो त अवगत नै होला ।

गएका १३ वर्षमा अध्यक्ष नै दिएर पुरस्कृत गर्नुपर्ने गरी के योगदान गरेको छ र अध्यक्ष मागेको ? विचार मिल्नेसँग एकताको लागि वार्ता जारी रहँदारहँदै विना जानकारी ओलीजीसँग पनि एकताको लागि संवाद किन शुरू गरेको ? लगायत दर्जनौ यक्ष प्रश्नको जवाफ त दिनै पर्छ महोदय । इतिहास प्रति न्याय गर्न पनि आत्मसमीक्षा र कमजोरीको स्वीकारोक्ति त गर्नु पर्ला नि ।