हमासको ४८ बन्दीको ‘बिदाइ तस्बिर’मा नेपालका विपिन जोशी पनि समावेश


काठमाडौं । हमासले गाजामा रहेका ४८ इजरायली बन्दीहरूको तस्बिर सार्वजनिक गरेको छ । ‘बिदाइ तस्बिर’ शीर्षकमा प्रकाशित संकलित फोटोमा जीवित र मृत दुवै बन्दी देखाइएका छन् ।

हमासले यो कदम इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्झौतामा अस्वीकार गरेको र सेनाप्रमुख एयाल जामिरको नेतृत्वमा गाजा सिटीमाथि तीव्र हवाई तथा स्थल आक्रमण बढाइएको प्रसङ्गसँग जोडेको छ । यसमा नेपालका विपिन जोशीको पनि तस्बिर समावेश गरिएको अलजजिराले जनाएको छ ।

इजरायली अधिकारीहरूले करिब २० जना बन्दी अझै जीवित रहेको विश्वास गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो संख्या २० भन्दा कम हुन सक्ने बताएका छन् । नेतन्याहू र ट्रम्प दुवैले जीवित वा मृत सबै बन्दी फर्काउने र हमासलाई ध्वस्त पार्ने घोषणा गरेका छन्।

हमासले भने आक्रमण बढेसँगै बन्दीहरूको जीवन जोखिममा पर्ने चेतावनी दिँदै कतिपय बन्दी इजरायली बमले मारिएको दाबी गरेको छ।

प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, अक्टोबर २०२३ देखि सुरु भएको युद्धमा अहिलेसम्म ६५ हजारभन्दा बढी प्यालेष्टिनी मारिएका छन् भने १ लाख ६६ हजारभन्दा बढी घाइते भएका छन् ।