दमक नगर अधिवेशनको चुनावी नतिजा लुकाउन लिङ्देनको उर्दी !


दमक । आफ्नै गृह जिल्लामा लज्जास्पद हार बेहोरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दमक नगर अधिवेशनको चुनावी नतिजा लुकाउन उर्दी जारी गरेका छन् । निर्वाचन समितिलाई दवाब दिएर इतर पक्षका विजयी उम्मेदवार हेम सुवेदी सर्वसम्मत निर्वाचित भएको भन्दै हतारहतार घोषणा गर्न लगाए ।

राप्रपा अध्यक्ष लिङ्देन र पार्टीका कोशी प्रदेश अध्यक्ष राम थापा दुबै लाग्दा पनि इतर पक्षको उम्मेदवार सुवेदीले दमक नगर अध्यक्ष पद हत्याएपछि राप्रपा झापाभित्र मात्र नभएर देशभरी नै हल्लीखल्ली मच्चिएको छ । पार्टीमा धेरै वर्ष योगदान गरेका सुवेदीलाई पन्छाएर नयाँ अनुहार ल्याउने लिङ्देन र थापाको गठजोड बनेको थियो ।

तर, पछिल्लो समय नेतृत्वले विधान मिच्दै गरेको ज्यादती र पैसाको पछि दौड्ने पार्टीभित्र मौलाएको नयाँ प्रवृत्तिको विरोधमा दमकका स्थानीय कार्यकर्ताहरुले राम्रो सबक दिएका छन् । शनिबार सम्पन्न नगर अधिवेशनमा सुवेदीले १६ मत पाएका थिए भने लिङ्देन र थापाका संयुक्त उम्मेद्वार राजकुमार योङयोले १५ मत पाए ।

अधिवेशनका प्रमुख अतिथि लिङ्देन स्वयम् थिए । दमक नगरपालिका भित्रका १० वडाबाट सबै वडा समिति अध्यक्ष मतदाता थिए । त्यसैगरी प्रत्येक वडाबाट दुई जनाको दरले थप २० जना मतदाता हुने तय भएको थियो भने अध्यक्ष पदका दुई उम्मेद्वारहरु गरेर नगर अधिवेशनका लागि कुल ३२ जना वैधानिक मतदाता तय भएको थियो ।

कुल ३२ मतदातामध्ये वडा न ७ का कृष्ण तिमिल्सिनाले काठमाडौंमा भएको कारण मतदान गरेनन् । त्यसैगरी १६ मत सुवेदीको पक्षमा गयो भने १५ मत योङयाले पाए । पार्टी अध्यक्ष भएर पनि लिङ्देनले खुलेआम गुटबन्दी गर्ने, गुटको भेला बोलाउने जस्ता जग हसाउने काम गर्दै आएका छन् ।

महाधिवेशनमा पराजय भोग्ने देखेर महाधिवेशनको मिति सार्ने लिङ्देनले तानाबुना बुन्न थालेका छन् भने निर्वाचन आयोग जस्तो संवैधानिक अंगको निर्णय नमान्ने जस्ता गैरजिम्मेवारी भनाइ सार्वजनिक गर्न थालेका छन् ।

राजसंस्था पुनःस्थापनाको आन्दोलन तुहाउने कार्य गरेको आरोप खेपेका लिङ्देनले गृह जिल्ला झापामा बलियो झापड भेटेका छन् । विशेष गरेर राप्रपाका संस्थापक नेता स्वर्गीय पद्मसुन्दर लावती र उनका परिवार विरुद्ध लिङ्देनले तथानाम बोलेको कुरा राप्रपा पार्टी परिवारले नपचाएको तथ्य दमक नगर अधिवेशनबाट प्रष्ट भएको छ । स्वर्गीय लावतीको दमकमा पुख्र्यौली खेती छ ।