भारतले चीनबाट थप आरडिटी कीट खरिद नगर्ने


भारतले परीक्षणको नतिजा विश्वसनीय नदिएको भन्दै चीनबाट थप आरडीटी किट नकिन्ने निर्णय गरेको छ । यो निर्णयसँगै द्रुत परीक्षणका लागि प्रयोग हुने १० लाख थान किट चीनबाट ल्याउने भारतको योजना स्थगित भएको छ । देशका विभिन्न राज्यमा प्रयोग हुन बाँकी भएका किटहरू पनि भारतको केन्द्र सरकारले फिर्ता पठाउन निर्देशन दिएको छ ।

चिनियाँ किट प्रयोग गरेर कोरोनाभाइरस सङ्क्रमण भएका मानिसहरूको रगतमा भएको एन्टीबडी पत्ता लगाउन सक्ने अपेक्षा गरिएको थियो । आरडीटी परीक्षणको परिणाम हेर्न ३० मिनेट मात्रै लाग्ने र कुनै निश्चित क्षेत्रमा सङ्क्रमणको अवस्था बुझ्न सहयोग हुने अपेक्षासहित व्यापक रूपमा आरडीटी किट प्रयोग गरिएको थियो । आरडीटीले कोरोनाभाइरस शरीरमा सकृय रूपमा भए नभएको निक्र्यौल गर्न सक्दैन। धेरै वैज्ञानिकले कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन हाल प्रयोग भइरहेको आरडीटी विधिमाथि प्रश्न उठाएका छन् ।

चीनले भारतको दाबीको खण्डन गरेको छ । “चीनबाट निर्यात हुने स्वास्थ्य सामग्रीहरू प्राथमिकतामा रहेका हुन्छन्। चिनियाँ उत्पादनलाई दोषपूर्ण भन्नु र यो विषयलाई पूर्वाग्रही हिसाबले हेर्नु केही व्यक्तिहरूको अन्यायपूर्ण र गैरजिम्मेवारपूर्ण कुरा हो,“ चिनियाँ दूतावासका प्रवक्ता जी रोङले एउटा विज्ञप्तिमा भनेका छन् ।

भारतका केही राज्यले आवश्यकता अनुसार परीक्षण हुन नसकेको अवस्थामा इन्डीयन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) लाई र्यापिड टेस्ट किट प्रयोग गर्न दिन दबाव दिएका थिए । सुरुमा अनिच्छुक भएको भए पनि आईसीएमआरले अन्ततः दुई चिनियाँ कम्पनीका किट ल्याएर परीक्षण गर्न अनुमति दिएको थियो ।

परीक्षणलगत्तै राज्यहरूले ती किटको विश्वसनीयता पाँच प्रतिशतजति मात्रै भएको बताएका थिए । उनीहरूले कोरोनाभाइरस पुष्टि भएका व्यक्तिमा परीक्षण गर्दा समेत आरडीटीको परिणाम भने नेगेटिभ देखिएको बताएका छन् ।