कोरोनाभाइरस सङ्क्रमणको महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप न्यूयोर्कमा लकडाउन लगाइएसँगै धेरै वैवाहिक कार्यक्रम स्थगित भएपछि त्यहाँका गभर्नर एन्ड्रू कोउमोले अनलाइन विवाहलाई अनुमति दिने आदेशमा हस्ताक्षर गरेका छन् । अब न्यूयोर्कमा विवाहका लागि अनलाइनबाटै आवेदन दिन पाइनेछ । सम्बन्धित अधिकारीहरूले पनि विवाहको ’भर्चूअल’ कार्यक्रम सञ्चालन गर्न पाउनेछन् ।
अनलाइन विवाहबारे निर्णय गरिसकेपछि कोउमोले ठट्टा गर्दै अब विवाह नगर्न “कुनै बहाना नभएको“ बताएका थिए । “तपाईँ ’जूम’बाटै गर्न सक्नुहुन्छ। हो कि होइन?“ उनले भने । आगामी मे १५ तारिखसम्म न्यूयोर्कमा प्रतिबन्धात्मक व्यवस्था लागु गर्ने निर्णय भएसँगै यस्तो कदम चालिएको हो। कोरोनाभाइरसको सङ्क्रमणका कारण हालसम्म न्यूयोर्कमा १४ हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।
सामाजिक सञ्जालमा भने विवाहसम्बन्धी उक्त निर्णयबारे मिश्रित प्रतिक्रिया देखिएको छ । परिवारका सदस्य तथा इष्टमित्र सहभागी हुन नसक्ने अवस्थामा विवाह समारोह आयोजना गर्ने विचार किन गर्ने भन्दै कतिपयले प्रश्न सोधेका छन् ।
अन्य निर्णयलाई प्राथमिकतामा राख्न नसकेको भन्दै गभर्नरको आलोचना पनि भएको छ । तर केहीले भने महामारीका बेला विवाहले स्वास्थ्य बीमाबाट व्यावहारिक लाभ हुन सक्ने औँल्याएका छन् ।
कानुनी रूपमै विवाह सम्पन्न गराउन इन्टरनेटको सहायता लिने स्थानमा न्यूयोर्क मात्रै छैन । संयुक्त अरब इमिरेट्स (यूएई)ले पनि आफ्ना देशका नागरिक तथा त्यहाँ बस्दै आएका व्यक्तिले अनलाइन मार्फत विवाह गर्न पाउने घोषणा गरेको छ ।
यस्तै किसिमको व्यवस्था अर्को अमेरिकी राज्य कोलराडोमा पनि लागु गरिएको छ। त्यहाँ जोडीहरूलाई विवाहका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया