अफगानिस्तानको राष्ट्रपति कार्यालयका दर्जनौँ कर्मचारीमा कोरोना सङ्क्रमण


अफगानिस्तानको राष्ट्रपति कार्यालयमा दर्जनौँ कर्मचारीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । यसअघि २० जनामा सङ्क्रमण देखिएको बताइए पनि आइतवार द न्यूयोर्क टाइम्सले सङ्क्रमित हुनेको सङ्ख्या ४० पुगेको जनाएको छ ।

अफगानिस्तानको सरकारले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। र, स्वयं राष्ट्रपति असरफ गनीमा पनि सङ्क्रमण देखिएको छ वा छैन भन्ने कुनै खबर छैन । ७० वर्षीय राष्ट्रपति गनीले सन् १९९० को दशकमा क्यान्सरका कारण आफ्नो पेटका केही भाग गुमाएका खबरहरू आएका थिए ।

राष्ट्रपति कार्यालयले बिहीवार गरेको एउटा ट्वीटमा राष्ट्रपति गनीले भिडिओ लिङ्कमार्फत मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरेको देखिन्छ । तर त्यसयता उक्त ट्वीटर खातामा राष्ट्रपतिले इरानी अधिकारीहरूसँग दूरीमा बसेर बैठकहरू गरेका तस्बिरहरू राखिएका छन् ।

अफगानिस्तान सरकारले शनिवार दिएको तथ्याङ्क अनुसार त्यहाँ ९३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भएको छ । सङ्क्रमित हुनेको सङ्ख्या कम देखिए पनि दशकौँ लामो द्वन्द्वका कारण अफगानिस्तानको स्वास्थ्य सेवा एकदमै कमजोर छ र उनीहरूसँग परीक्षण गर्ने साधन पनि सीमित मात्रै छ ।

तर अफगानिस्तानमा कोरोनाभाइरसको सङ्क्रमण निकै धेरै भएको आशङ्काहरू व्यक्त गरिएका छन् । मार्च महिनामा डेढ लाखभन्दा बढी अफगानहरू कोरोनाभाइरसबाट निकै प्रभावित बनेको इरानबाट स्वदेश फर्किएका थिए । त्यस्तै दशौँ हजार मानिस पाकिस्तानबाट पनि फर्किएका थिए ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलसम्म विश्वभरि २४ लाख २,७९८ सङ्क्रमित भएका छन् भने एक लाख ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । उक्त विश्वविद्यालयको तथ्याङ्क अनुसार अहिलेसम्म अफगानिस्तानमा सङ्क्रमित हुनेको सङ्ख्या ९९६ छ भने ३३ जनाको मृत्यु भएको छ ।

दक्षिण एशियाका देशमध्ये भारत, पाकिस्तान र बाङ्ग्लादेशपछि सङ्क्रमित हुनेको सङ्ख्या अफगानिस्तानमा धेरै रहेको छ । अफगानिस्तानपछि श्रीलङ्कामा सङ्क्रमित हुनेको सङ्ख्या २७१ छ भने त्यहाँ अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ ।

माल्दिभ्स, नेपाल अनि भुटानमा सङ्क्रमित हुनेको सङ्ख्या ५२, ३१ र ५ रहे पनि यी देशमा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।