यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय


काठमाडौँ । सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न अर्को आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।

आयोगको सदस्यमा पुष्कर कार्की र सञ्जीव मिश्र रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसअघि पनि सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो । सो आयोगको प्रतिवेदनले सम्बोधन गर्न नसकेको विषयलाई पनि समेट्ने गरी सरकारले नयाँ आयोग बनाएको हो ।

त्यस्तै बैठकले तत्कालीन कांग्रेस नेतृत्वको सरकारको पालामा बनेको राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । मन्त्रिपरिषद्ले चैत ११ गतेदेखि १९ गतेसम्म हुने उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको साताव्यापी चीन भ्रमणलाई अनुमति दिएको छ । त्यसैगरी हुम्ला–फुकोट ४०० केभी विद्युत् प्रसारण लाइनका लागि ११३ रोपनी सरकारी जग्गा प्रयोगका लागि अनुमति दिने निर्णय पनि सरकारले गरेको छ।