काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुलुकको दीघकालीन हितमा काम गर्न सुझाव दिएका छन् । बिहीबार सामाजिक संजालमार्फत भट्टराईले कुर्सी मोहलाई त्यागेर मुलुकको हितमा काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।
उनले भनेका छन्, ‘प्रधानमन्त्री प्रचण्डले नमागेको सुझाव–उहाँले सत्तास्वार्थको निम्ति जति सजिलै ‘वल्लोघरे नरे पल्लोघर सरे’ को कला प्रदर्शन गर्नसक्नुहुन्छ त्यस्तै दक्षता बरू कुर्सीमोह छोडेर भएपनि सबै प्रमुख दल/नेतालाई साथ लिएर शान्ति प्रकृया पूरा गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाने, उच्च तहको भ्रष्टाचार नियन्त्रण गर्न शक्तिशाली जनलोकपाल गठन गर्ने, वैज्ञानिक भूमिसुधार गर्ने, आर्थिक क्रान्तिको कार्ययोजना निर्माण गरेर लागू गर्न शक्तिशाली राष्ट्रिय विकास प्राधिकरण गठन गर्नुपर्छ ।’
त्यस्तै भट्टराईले दूरगामी राष्ट्रिय हितका काम गर्न सके इतिहासले सधैं सम्झिने भन्दै त्यसमा ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘भारतलाई इपिजी प्रतिवेदन लागू गर्न सहमत गराउने आदि दूरगामी राष्ट्रिय हितका काम सम्पन्न गर्नसके इतिहासले सधैं सम्झिनेछ । नत्र जति वर्ष र जति पटक प्रधानमन्त्रीको कुर्सीमा बसेपनि देश र जनतालाई ‘हात्ती आयो हात्ती आयो फुस्सा’ मात्र हुनेछ।’

प्रतिक्रिया