काठमाडौं । पार्टीमा नेताहरुको कार्यविभाजनप्रति असन्तुष्ट नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अविचलित रुपमा अघि बढ्नुको विकल्प नभएको बताएका छन् । बुधबारको पार्टी स्थायी समिति बैठकमा फरक मत राखेका उपमहासचिव शर्माले बिहीबार सामाजिक संजालमार्फत यस्तो बताएका हुन् ।
उनले आफूले पार्टी बैठकमा संस्थागत हितका लागि विषय उठान गरेको बताएका छन् । उनले भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भर्खरै सम्पन्न स्थायी समिति बैठकमा केही महत्वपूर्ण सवालबारे पार्टी सुधारको पक्षमा व्यक्तिगत धारणा राख्नुपर्ने आवश्यकता ठहर गरि मैले संस्थागत हितका लागि विषय उठान गरेको हुँ ।’
उनले आफूले खासगरी पार्टीको विधान सम्मेलनबाट निर्मित विधान नथन्कियोस् भन्ने चाहेको बताएका छन् । उनले भनेका छन्, ‘खासगरी पार्टीको विधान सम्मेलनबाट निर्मित विधान नथन्कियोस्, सो अनुरुप कार्यान्वयन, गुणात्मक सुधार सहितको बलियो पार्टी निर्माण गर्न आन्तरिक जनवाद सहित नेता, कार्यकर्ताको न्यायोचित र पूर्वाग्रह रहित कार्यविभाजन हुनुपर्छ भन्नेमा जोड दिने कुरा पार्टीलाई बलियो बनाउने कुरा हो । हामीसँग बलिदानको धरोहर सहिद, घाइते, अपांगप्रतिको जिम्मेवारी उपलब्धिको रक्षा र दायित्व रहेकोले अविचलित रुपमा अगाडि बढ्नुको बिकल्प छैन ।’
शर्माले पार्टी स्थायी समिति बैठकमा पार्टी अध्यक्ष प्रचण्डकी बुहारी विना मगरलाई सुदूरपश्चिम प्रदेशको सहइन्चार्ज बनाएकोप्रति आपत्ति जनाएका थिए ।
यस्तो छ जनार्दन शर्माले बुधबार पार्टी स्थायी समिति बैठकमा राखेको फरक मत
आदरणीय अध्यक्ष कमरेड एवं स्थायी समिति
विषय : असहमति बारे ।
विधान अधिवेशन लगतै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै नराख्नु विधान अधिवेशनले पारित गरेको निर्णयहरूको भाषिक रुपले सम्पादन गरी कार्यान्वयन गर्ने कार्यभारप्रति वेवास्ता गर्नु र पारित विषयलाई वेवास्ता गरी विधि विहीनतालाई निरन्तरता दिने उद्देश्य देखिनु दुःखद् कुरा हो । विधान अधिवेशनबाट पारित भएका निर्णयहरू सम्पादन गरी तुरुन्त कार्यान्वयन गर्न माग गर्दछु ।
स्थायी कमिटीमा कार्य विभाजन एजेन्डा बारे गृहकार्यको नाममा पटक–पटक बैठक सरेको र आज मिति २०८० फागुन १५ गते प्रस्तावित भई असहमतिका बीच पारित गरिएका निर्णयहरू प्रति गम्भीर असहमतिका साथ आफ्नो मत राख्दछु ।
कार्य विभाजन गर्दा पार्टी निर्माण गर्न संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरूमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत वेवास्ता गरी विधिविपरीत आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्दछु ।
जनप्रतिनिधिहरू पार्टीको इन्चार्ज नरहने नीति म लगायतका कमरेडहरूलाई लागू गरेको भने पनि नारायण दाहाललाई बागमती प्रदेशको सह–इन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पष्ट गरेको छ ।
अझ गम्भीर कुरा त सेती महाकालीमा केही समयदेखि इन्चार्ज बनाउन अध्यक्ष समेतको संलग्नतामा गरिएको गतिविधिहरूका आधारमा दर्जनभन्दा बढी कमरेडलाई वेवास्ता गर्दै, स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्युत गरी विकल्प नदिई अपमानित गरिएको । सो प्रदेशमा हाललाई बिना मगरलाई सह–इन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैंमा गम्भीर छ । खगराज भट्टलाई यो वा त्यो जिम्मेवारीबाट सन्तुलन नगरी राजनीतिक रुपबाट विस्थापित र अपमानित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दछु ।
मैले जिम्मेवारी नपाउने कुरालाई सामान्य रुपमा लिएको छु । तर यसभित्रको अन्तर्निहित उद्देश्य, विधान सम्मेलनमा मैले प्रस्तुत गरेका एजेन्डाहरू, छलफल र हलले पदाधिकारी समेत अधिवेशनबाट चुनिनुपर्ने मागलाई बेवास्ता गर्दै पदाधिकारी र पार्टी नामबारे पछि गरौंला भन्दै टारिएको अवस्था जगजाहेर छ । उपर्युक्त मतप्रति सकारात्मक रहेकाहरूलाई जिम्मेवारी विहीन बनाउनुले के मनसाय रहेको छ भने स्पष्ट हुन्छ । उक्त अधिवेशनमा मैंले मौखिक रुपमा सो सम्बन्धमा राखेको कुराप्रति बेवास्ता गरेकाले मैले पार्टीको विधि विधानभित्र रहेर आफ्नो मत राख्न खोज्दा अधिवेशनमा समेत बोल्ने अनुमति नदिएको स्मरण गराउँदै कार्य विभाजनमा आइपुग्दा सोही आग्रहबाट निर्देशित भएको स्पष्ट हुन्छ । जनप्रतिनिधिले पार्टी कामको जिम्मेवारी नलिने नीतिगत व्यवस्था कार्यान्वयन गर्ने कुरा गर्दा स्वयम् अध्यक्ष र सम्पूर्ण तहमा लागू गर्ने हो होइन भन्ने प्रश्न स्वाभाविक रुपमा उठ्छ ।
विधानको व्यवस्था अनुसार पार्टी पंक्तिमा आफ्नो मत राख्न पाउने अधिकारको उपयोग गर्दै लिखित असहमति पत्र यस बैठकमा प्रस्तुत गरेको छु। पार्टी निर्माणप्रति प्रतिबद्ध रहँदै सरकार र संसद्का कामहरू समेतमा सकारात्मक भूमिका निर्वाह गर्ने जिम्मेवारीप्रति स्पष्ट रहेको कुरा समेत अनुरोध गर्दछु ।
– जनार्दन शर्मा ‘प्रभाकर’

प्रतिक्रिया