माओवादीमा प्रदेश इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी हेरफेर, आफूहरुप्रति पूर्वाग्रह राखिएको जनार्दन शर्माको गुनासो


काठमाडौं । प्रदेश इन्चार्ज र सहइन्चार्जमा जिम्मेवारी हेरफेरलाई लिएर नेकपा माओावदी केन्द्रका नेताहरु असन्तुष्ट देखिएका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्जबाट हटाएपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य खगराज भट्टले सुदूरपश्चिमको पार्टी सिध्याउने डिजाइन अस्वीकार्य भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले पार्टीको निर्णयपछि भनेका छन्, ‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ वर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ।’ बुधबार बसेको स्थायी समिति बैठकले प्रदेशहरूको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी हेरफेर गरेको थियो । सुदूरपश्चिम प्रदेशमा भट्टराई इन्चार्जबाट हटाएर गिरिराजमणि पोखरेललाई इन्चार्ज बनाइएको छ भने प्रदेशको सहइन्चार्जको जिम्मेवारी प्रचण्डकी बुहारी विना मगरलाई दिइएको छ । भट्टलाई पार्टी संसदीय दलको नेताबाट पनि हटाइएको थियो ।

त्यसैगरी उपमहासचिव जनार्दन शर्माले पनि स्थायी समितिमा पेस भएको नेताहरुको कार्यविभाजनलाई लिएर असहमति प्रकट गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकमा उनले प्रस्तावित कार्यविभाजन र सेती महाकालीमा देखिएको विवाद समाधानको निर्णयमा असहमति प्रकट गरेका हुन् ।

उनले भने, ‘कार्यविभाजन सही भएन, पार्टी निर्माणको उद्देश्यअनुरुप भएन, विधान अधिवेशनको ‘ह्याङओभर’ लाई लिएर कार्यविभाजन गरियो । विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफूलगायत अन्य नेतालाई कार्यजिम्मेवारीविहीन बनाइएको छ ।’

सुदूरपश्चिम प्रदेशमा स्थायी समिति सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सहइन्चार्ज बनाइएकोलगायत मुद्दा, त्यहाँको दलभित्रको विवादलाई टुङ्ग्याउने निर्णय सन्तुलित र न्यायपूर्ण नभएको भनी आफूले असहमति राखेको उनले जानकारी दिए । उनले भने, ‘पार्टी अध्यक्षले असहमतिका विषयलाई पार्टीभित्र राख्न पाइन्छ, स्वागत छ भन्नुभयो । मैले असहमतिका विषय सम्पूर्ण नेतृत्वलाई बुझाएको छु ।’