इरान युद्ध र इन्धनको मूल्यवृद्धिका कारण हाम्रो पार्टी पराजित भयो : ट्रम्प


बीबीसी । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटहरू तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र माथिल्लो सदन (सीनेट) विजयी भएका छन् । रिपब्लिकन पार्टीका ट्रम्पको राष्ट्रपतीय कार्यकालका बाँकी दुई वर्षमा अब डेमोक्रेटिक पार्टीको नियन्त्रण कायम हुन भएको छ । कङ्ग्रेसमा नियन्त्रण कायम भएकाले डेमोक्रेटहरूले राष्ट्रपति ट्रम्पविरुद्ध तेस्रो पटक महाभियोग लगाउन सक्ने सम्भावना पनि छ।

फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले डेमोक्रेटहरूले ‘राम्रो गरेको’ भन्दै इरान युद्ध र इन्धनको मूल्यवृद्धिका कारण आफ्नो पार्टी पराजित भएको स्वीकार गरे । सीनेटमा नियन्त्रण कायम गर्ने महत्त्वपूर्ण प्रतिस्पर्धामा डेमोक्रेटहरूले १८ वर्षयता पहिलो पटक नोर्थ क्यारोलाइना जितेका छन्। त्यहाँ रोय कूपरले रिपब्लिकनहरूबाट उक्त सीट खोसेका छन्।

रिपब्लिकन पार्टीको वर्चस्व कायम रहँदै आएका टेक्सस, ओहायो र क्यान्ससमा सीनेटमा डेमोक्रेटिक पार्टी विजयी भएको छ। क्यान्ससमा १०० वर्षअघि मात्र डेमोक्र्याटिक पार्टीका उम्मेदवार सीनेटमा निर्वाचित भएका थिए।

मतगणना हुँदै गर्दा राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालका पोस्टहरूमा निराशा व्यक्त गर्न थालेका थिए । यस मध्यावधि निर्वाचनमा तल्लो सदनका सबै ४३५ सीट, माथिल्लो सदनका १०० मध्ये ३५ सीट र गभर्नरहरूसहित पदका लागि चुनावी प्रतिस्पर्धा थियो।

मतदाताहरूको मनोदशा डोनल्ड ट्रम्प र रिपब्लिकनहरूको विपक्षमा गएको देखिन्थ्यो । सीनेटका मुख्य प्रतिस्पर्धामा डेमोक्रेटिक सिनेटर जोन ओसफ जोर्जामा पुनः निर्वाचित भएका छन् । ओसफलाई सन् २०२८ को सम्भावित राष्ट्रपति पदको उम्मेदवारको रूपमा व्यापक रूपमा हेरिँदै आएको छ।

उनले समर्थकहरूलाई सम्बोधन गर्दै मतदाताहरूले ‘ट्रम्पको भ्रष्टाचार र अक्षमतालाई अस्वीकार गरेको’ बताए । पूर्वराष्ट्रपति बराक ओबामाले आफ्नो पार्टीको ठूलो जित अमेरिकीहरू परिवर्तन चाहन्छन् भन्ने प्रमाण भएको बताएका छन् । मिशिगन र जोर्जाजस्ता ’स्विङ स्टेट’मा ओबामा डेमोक्र्याटिक उम्मेदवारहरूसँगै निर्वाच प्रचारप्रसारमा सहभागी भएका थिए ।