बेपत्ता अस्ट्रेलियन माझीको अवयव गोहीको शरीरमा फेला


माछा मार्न जाँदा हराएका एक जना अस्ट्रेलियाली व्यक्तिको अवयव गोहीको शरीरभित्र भेटिएको छ । साथीहरूसँग माछा मार्न गएका केभिन डर्मोडी हराउनुअघि उत्तरी क्विन्सल्यान्डको केनेडीज् बेन्डमा गत शनिबार अन्तिम पटक देखिएका थिए। नुनिलो पानी पाइने यो ठाउँ गोहीको वासस्थान क्षेत्रको रूपमा चिनिन्छ ।

दुई दिनसम्म खोजी गर्दा पनि उनी नभेटिएपछि प्रहरीले दुई वटा ठूला गोहीलाई मारेर हेर्दा शरीरभित्र मानव अवशेष भेटिएको थियो । शवको पहिचान खुल्न बाँकी रहे पनि प्रहरीले ६५ वर्षका ती व्यक्तिबारे भइरहेको खोजीको दुखद अन्त्य भएको बताएको छ । डर्मोडी अनुभवी माझी थिए। उनी केप योर्क समुदायका समेत चिर परिचित व्यक्ति हुन् ।

चार दशमलव १ मिटर र २.८ मिटरका दुई वटा गोहीलाई ती व्यक्ति अन्तिम समय देखिएको ठाउँबाट १५ सय मिटर टाढा गोली प्रहार गरेर मारिएको थियो दुई वटामध्ये एउटा गोहीको शरीरमा मात्रै मानव अवशेष भेटिए पनि दुई वटै गोही घटनामा संलग्न भएको वन्यजन्तु विज्ञहरूको दाबी छ । डर्मोडीसँग गएका अरू माझीले भने उनीमाथि आक्रमण भएको देखेका थिएनन्। तर उनीहरूले पानीमा ठूलो आवाज र उनी चिच्याइरहेको आवाज सुनेको बताएका थिए ।

अस्ट्रेलियाको उष्णप्रदेशीय उत्तरी ध्रुवमा गोहीहरू प्रशस्तै पाइन्छन् यद्यपि तिनीहरूले गर्ने आक्रमणका घटना दुर्लभ मानिन्छन्। डर्मोडीको मृत्यु सन् १९८५ मा अभिलेख राख्न सुरु भए यताको १३ औँ हो।