विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न भएको छ।
शनिबार अस्पतालको सेन्ट्रल हलमा ‘इमेजिङ टुडे, इम्प्याक्टिङ टुमरो’ भन्ने नाराका साथ “इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन बीएमसीटीएच“ नामबाट आयोजित सम्मेलनमा मोलिक्युलर इमेजिङ, थेरानोस्टिक्स र रेडियोआइसोटोप थेरापी लगायतका विषयमा नेपाल, बंगलादेश र भारतका चिकित्सकहरू एउटै मञ्चमा जुटेका थिए। हस्पिटलकै न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागले सम्मेलन आयोजना गरेको थियो।

सम्मेलनमा बंगलादेशबाट प्रा.डा. मिजानुल हसन, डा. मोल्ला अब्दुल वहम, प्रा. डा. सनोवार हुसैन, प्रा. डा. फारिया नर्सिन र प्रा. डा. जास्मिन आरा हकसहित भारतको आरजिसीआईआरसी, नयाँ दिल्लीबाट प्रा. डा. मनोज गुप्ता सहभागी भएका थिए। नेपालतर्फबाट डा. अमरदीप चौधरी (बीएमसीटीएच), डा. सुमन श्रेष्ठ, डा. सागर महर्जन र डा. सुधीर केसीले आफ्ना अनुभव र ज्ञान साझा गरेका थिए।
काठमाडौं, पोखरा, चितवन, झापा, सुनसरी, मोरङलगायत नेपालका विभिन्न स्थानहरूबाट ३०० जनाभन्दा बढीको सहभागिता सम्मेलनमा रहेको आयोजकले जनाएका छन्।

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग स्थापना गरिसकेको छ। पेटभित्र फैलिने क्यान्सरको उपचारका लागि आवश्यक हाइपेक सेवा पनि पूर्वमै पहिलोपटक सोही हस्पिटलमा सञ्चालनमा आइसकेको छ।
न्यूक्लियर मेडिसिन भनेको रेडियोएक्टिभ पदार्थको प्रयोग गरी शरीरका आन्तरिक अंगहरूको कार्यप्रणाली जाँच्ने र उपचार गर्ने आधुनिक चिकित्सा विज्ञानको एक शाखा हो। यसमार्फत क्यान्सरको प्रारम्भिक पहिचान, हृदयको रक्तप्रवाह जाँच, हड्डीको रोग पत्ता लगाउने र थाइरोइड समस्याको निदानसमेत गर्न सकिन्छ।
मोलिक्युलर इमेजिङले शरीरका कोशिकाहरूमा आणविक स्तरमै भइरहेको परिवर्तन देखाउने भएकाले रोगको सुरुवाती चरणमै निदान गर्न सहयोग पुर्याउँछ।
आयोजकहरूका अनुसार यस सम्मेलनले न्यूक्लियर मेडिसिन क्षेत्रमा क्षेत्रीय स्तरमा ज्ञान र अनुभव आदानप्रदान गर्ने अवसर सिर्जना गरेको छ, जसको प्रत्यक्ष फाइदा पूर्वी नेपालका बिरामीहरूले पाउने अपेक्षा गरिएको छ। हस्पिटलको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागले हाल निदान र उपचार दुवै प्रकारका सेवा प्रदान गर्दै आएको छ।

निदानतर्फ विभागले क्यान्सरको प्रारम्भिक पहिचान र फैलावट पत्ता लगाउने, हृदयरोगको निदान र हृदयको रक्तप्रवाह जाँच्ने, हड्डीको रोग र संक्रमण पत्ता लगाउने, मिर्गौला, कलेजो र फोक्सोको कार्यक्षमता जाँच्ने तथा थाइरोइड ग्रन्थीको समस्या निदान गर्ने सेवा दिँदै आएको छ। उपचारतर्फ विभागले थाइरोइड क्यान्सरको रेडियोएक्टिभ आयोडिन उपचार, हड्डीको दुखाइ कम गर्ने रेडियोन्यूक्लाइड उपचार, न्यूरोएन्डोक्राइन ट्युमरको लक्षित उपचार र रेडियोसिनोभेक्टोमीजस्ता सेवा उपलब्ध गराउँदै आएको छ, जसले उपचारको सफलता दर बढाउन मद्दत गर्ने अस्पतालले जनाएको छ।

प्रतिक्रिया