भक्तपुर र काभ्रेका जनप्रतिनिधिद्वारा रानिकोटको पर्यटन र पूर्वाधार विकासका लागि स्थलगत भ्रमण


भक्तपुर । होटल तथा पर्यटन व्यवसायी एवं समाजसेवी रामसुन्दर बकेलगायत स्थानीय अगुवाहरूको पहलमा भक्तपुर र काभ्रेका जनप्रतिनिधिहरूको टोलीले रानिकोट क्षेत्रको स्थलगत भ्रमण गरेको छ। भ्रमणको उद्देश्य रानिकोटको पर्यटन सम्भावना, भौगोलिक अवस्था, स्थानीय समस्या तथा विकासका आवश्यकताबारे प्रत्यक्ष जानकारी गराई विकास निर्माणका योजनामा आवश्यक पहल गर्न अनुरोध गर्नु रहेको थियो ।

भ्रमणका क्रममा स्थानीय अगुवाहरूले जनप्रतिनिधिहरूसमक्ष रानिकोटको भौगोलिक अवस्था, ग्रामीण बस्तीका समस्या, कृषि, पर्यटन, सडक, खानेपानी तथा अन्य पूर्वाधार विकासका आवश्यकताबारे विस्तृत जानकारी गराएका थिए। उनीहरूले विशेषगरी ग्रामीण सडक निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखी विकासको निकास निकाल्न आग्रह गरेका छन्।

स्थानीयका अनुसार सडक पूर्वाधार सुधार भए कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्धन तथा स्थानीय जनजीवन सहज बन्नेछ। रानिकोटमा प्रत्येक शनिबार सञ्चालन हुँदै आएको किसान हातबजारले गाउँमै कृषि उत्पादनको बिक्री–वितरणलाई सहज बनाएको छ। यसले बिचौलियाको प्रभाव घटाउनुका साथै किसानलाई उचित मूल्य प्राप्त गर्न सहयोग पुगेको स्थानीयहरूको भनाइ छ।

आन्तरिक पर्यटन विस्तारसँगै रानिकोटमा साना–ठूला होटल तथा होमस्टे सञ्चालन हुने क्रम बढिरहेको छ। धेरै स्थानीयले होमस्टे सञ्चालन गर्ने तयारी गरिरहेका छन्। आवश्यक पूर्वाधार निर्माण, सडक सञ्जाल विस्तार र प्रभावकारी प्रचार–प्रसार गर्न सके रानिकोट निकट भविष्यमा ग्रामीण पर्यटनको आकर्षक केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरिएको छ।

होटल तथा पर्यटन व्यवसायी एवं समाजसेवी राम सुन्दर बेकेले स्थानीय सरकार, जनप्रतिनिधि, व्यवसायी र समुदायबीच सहकार्य गरेर “मेरो सीप, मेरो गाउँ” जस्ता अभियान सञ्चालन गर्न सके गाउँमै रोजगारी सिर्जना हुने, युवाको वैदेशिक पलायन घट्ने तथा स्थानीय अर्थतन्त्र सुदृढ हुने उनको जनाएका छन्।

भ्रमणमा सहभागी जनप्रतिनिधिहरूलाई भिलेज हाईल्याण्ड रिसोर्टमा स्वागत तथा सम्मान कार्यक्रमसमेत आयोजना गरिएको थियो। सो अवसरमा स्थानीय पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, कृषि उत्पादनको बजारीकरण र रानिकोटलाई ग्रामीण पर्यटनको नमुना गन्तव्यका रूपमा विकास गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
स्थानीयवासीले जनप्रतिनिधिहरूको स्थलगत रूपमा जनताको आवाज सुनेर विकास निर्माणका योजनालाई प्राथमिकताका साथ अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।