सम्मानद्वारा आत्महत्या रोकथाम सहयोगी पुस्तिका प्रकाशन


काठमाडौं । सडक आश्रित मानवमुक्त अभियान नेपाल, सम्मान संस्था विविध कारणले सडकमा जिउन वाध्य व्यक्तिको उद्दार तथा क्षमता वृद्धि विकासमा सेवा पुर्याउन अहोरात्र लागिपरेको छ । साथै संस्थाले पछिल्लो समय अत्याधिक रुपमा बढ्दै गइरहेको आत्महत्या न्यूनीकरण तथा रोकथामका साथै यस्ता व्यक्तिहरुको वास्तविक समस्या पहिचान गरि आवश्यक ज्ञान, सिप, परामर्श, सहजीकरण र पुनःस्थापनामा पनि ध्यान दिएको छ ।

नेपाली समाजमा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएपछि सडक आश्रित मानवमुक्तअभियान नेपाल (सम्मान)नामक संस्थाले आत्महत्या रोकथाम सहयोगी पुस्तिका प्रकाशन गरेको छ ।

सोमबार राष्ट्रिय मानवअधिकार आयोगको सभाहलमा उक्त पुस्तक आयोगका सदस्य प्राध्यापक डा. सूर्यप्रसाद ढुंगेलले विमोचन गरेका छन् । नेपालमा अप्राकृतिक मृत्युका कारणहरूमध्ये आत्महत्याको तथ्यांकचिन्ताजनक रहेको भन्दै सदस्य ढुंगेलले सम्मान संस्थाले आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागि सहयोगी पुस्तक प्रकाशन गर्नु आफैंमा स्वागतयोग्य कदम भएको बताए ।

कार्यक्रममा सम्मानका अध्यक्ष पद्यप्रसाद घिमिरेले नेपालमा आत्महत्या गम्भीर चुनौती बनिरहेको अवस्थामा आफ्नो संस्थाले आत्महत्या दुःखद दुर्घटना र अकाल मृत्यु हो भन्ने जनचेतना बढाउन हाते पुस्तिका प्रकाशन गरेको जानकारी दिए ।

नेपालमा आत्महत्या बढ्दो अवस्थामा रहेकाले आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सम्मान संस्था लागिपरेको संस्थाका कार्यकारी सदस्य सशस्त्र प्रहरी बलका पूर्वप्रमुख शैलेन्द्रकुमार श्रेष्ठले बताए ।

सम्मानले प्रकाशन गरेको आत्महत्या रोकथाम सहयोगी हाते पुस्तिका विमोचन कार्यक्रममा सहभागीहरुले आत्महत्याको कारणहरू पहिल्याउँदै सम्बन्धित सरोकारवालाहरू सक्रिय भई आ–आफ्नो भूमिकाअनुरूप उपयुक्त र प्रभावकारी हस्तक्षेप गर्नुपर्नेमा जोड दिएका थिए ।
२०७६ सालमा स्थापना भएको सडक आश्रित मानवमुक्त अभियान नेपाल (सम्मान) संस्थाले आत्महत्या रोकथाम सहयोगी पुस्तक देशभर पुर्याउने र आगामी दिनमा आत्माहत्या रोकथामका लागि तीनै तहका सरकारसँग समन्वय गर्ने उपाध्यक्ष डा. लक्षी सिंहले बताए ।
सम्मान संस्थाले प्रकाशन गरेको आत्महत्या रोकथाम सहयोगी हाते पुस्तिकाका प्रधानसम्पादक मण्डलमा संस्थाका अध्यक्ष तथा वरिष्ठ मनोविद पद्यप्रसाद घिमिरे, उपाध्यक्ष डा. लक्षी सिंह, सचिव उदयराज ढकाल र सदस्य डा. बालकृष्ण खनाल छन् ।