काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन रोक्न आफ्नो तर्फबाट शुक्रबार सर्वोच्च अदालतमा कुनै रिट दर्ताका लागि नगएको स्पष्ट पारेका छन् ।
विभिन्न सञ्चारमाध्यममा आफ्नो तर्फबाट महाधिवेशन रोक्न सर्वोच्चमा रिट दर्ता गर्न खोजिएको र सर्वोच्चले विभिन्न कारण देखाउँदै रिट दर्ता नगरेको भन्ने समाचार सार्वजनिक भएपछि खड्काले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
खड्काले आफ्नो नामबाट वा आफ्नो तर्फबाट शुक्रबार सर्वोच्च अदालतमा कुनै रिट दर्ताका लागि नगएको स्पष्ट गर्दै संवेदनशील विषयमा अनुमानका आधारमा समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन् । साथै, सामाजिक सञ्जालमा भ्रम नफैलाउन पनि उनले अनुरोध गरेका छन् ।
तर, सर्वोच्च अदालतमा पुनरावलोकनका लागि दायर गरिएको रिट जारी भई निस्सा समेत प्राप्त भइसकेको अवस्थामा ‘विशेष महाधिवेशन’बाट बनेको केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने गरी गरेको निर्णयप्रति भने खड्काले असहमति जनाएका छन् ।
उनका अनुसार उक्त निर्णय पार्टीको सम्पूर्ण एकताको वर्तमान ऐतिहासिक आवश्यकता र सर्वोच्च अदालतको पुनरावलोकनसम्बन्धी आदेश दुवैको विपरीत छ ।
खड्काले सर्वोच्च अदालतबाट पुनरावलोकनको मुद्दाको अन्तिम किनारा नलागेसम्म कांग्रेसको १५औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न कानुनी व्यवस्थाअनुसार रोक्का आदेश माग गर्दै रिट निवेदन दायर गर्ने विषयमा कानून व्यवसायीसँग गम्भीर परामर्श भइरहेको बताएका छन् ।
उनले चाँडै नै सर्वोच्च अदालतमा रिट निवेदन लिएर जानेसमेत स्पष्ट पारेका छन्।

प्रतिक्रिया