नेता कार्यकर्तालाई महाधिवेशनमा सहभागी नहुन देउवा पक्षको अपील


काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले १५औँ महाधिवेशनमा सहभागी नहुन नेता कार्यकर्तालाई अपील गरेको छ ।

देउवा पक्षको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले शुक्रबार विज्ञप्ति जारी गरी पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई त्यस्ता गतिविधिमा सहभागी नहुन अपील गरेका हुन् ।

समितिले विशेष महाधिवेशन पक्षबाट आयोजना गरिने अधिवेशन तथा महाधिवेशनलाई ‘अवैधानिक र विभाजनकारी’ भन्दै त्यस्ता गतिविधि नगर्न र नगराउन आग्रह गरेको छ । पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता अहिलेको आवश्यकता रहेको भन्दै समितिले विशेष महाधिवेशनका कारण केन्द्रीय कार्यसमिति समानान्तर रूपमा विभाजित भएको दाबी गरेको छ ।

यस्तो अवस्थामा अधिवेशन वा महाधिवेशन अघि बढाउँदा पार्टीका सबै तहमा संरचनागत विभाजन सुरु हुने र त्यसको असर आगामी स्थानीय तथा प्रदेश सभा सदस्य निर्वाचनमा समेत पर्ने समितिको ठहर छ ।