नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गरेको महाकालीको मोटरेबल पुल सञ्चालनमा, स्थानीय उत्साहित


दार्चुला । प्रधानमन्त्री बालेन साहको भारत भ्रमणका क्रममा मंसिर ७ गते प्रधानमन्त्री साह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेसँगै महाकाली नदीमाथिको दार्चुलाको असिगडा र भारत धार्चुलाको छारछुम मोटरेबल पुल सञ्चालनमा आएको छ ।

पुल सञ्चालनमा आएपछि सीमावर्ती बासिन्दाको वर्षौंदेखि महाकाली नदी वारपार गर्न तुइन र ट्युबको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । ११० मिटर लामो दुई लेनको उक्त पुलले महाकाली नगरपालिका–८ स्थित असिगडा र भारतको उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढ जिल्लाको धार्चुला तहसिलस्थित छारछुमलाई जोड्छ ।

मोटरेबल पुल सञ्चालनमा आएपछि सीमावर्ती क्षेत्रका बासिन्दामा उत्साह देखिएको स्थानियले बताएका छन् । महाकाली नगरपालिका दत्तुका बासिन्दा महेश कार्कीले यो पुल सञ्चालनमा आएपछि यस क्षेत्रको सिमावर्ती इलाकामा जनजीवन सहज हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘लामो समयदेखि हामी यो पुल सञ्चालनको प्रतिक्षामा थियौं । मोटेरेबल पुल नहुँदा हामीले पैदल र तुईन मार्फत आफ्ना आवश्यकता पूरा गर्नुपर्ने बाध्यतामा थियौं । तर अब त्यो बाध्यताको अन्त्य हुने भएको छ ।’
महाकाली नगरपालिका–८ स्थित असिगडा र भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाअन्तर्गत धार्चुलाको छारछुम जोड्ने उक्त पुलबाट अहिले दुवै देशका सवारीसाधन आवतजावत गरिरहेका छन् ।

पुल सञ्चालनमा आएपनि पुलको निर्वाध प्रयोग गर्न केही जटिलता देखिएको स्थानियको गुनासो छ । उनीहरुका अनुसार यस्ता जटिलता हटाएर पुल दुवै देशका नागरिकका लागि अनुकुल हुने गरी सञ्चालनको व्यवस्था मिलाउनुपर्छ । स्थानिय मालिकार्जुनका व्यापारी गगन सिंह धामीले यो पुल सञ्चालनमा आउँदा आफूहरु उत्साहित भएको बताउँदै भने, ‘तर पुल प्रयोग गर्न केही नियम लगाइएका छन् त्यसले हामीलाई समस्या पर्न सक्छ त्यसैले त्यस्ता नियमको पुनरावलोकन गर्न जरुरी छ ।’

पुलबाट सवारीसाधन आवतजावत गर्न दिनभरि खुला रहने व्यवस्था भने छैन । पुल बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुन्छ । यस सम्बन्धमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बेलुका ६ बजेपछि पुल बन्द हुने भए पनि आकस्मिक अवस्थामा भने सवारीसाधन तथा यात्रुको आवतजावत नरोकिने जानकारी दिए ।

उनले भने, ‘राति त्यो सिमा पुल बन्द भएपछि आवत जावत रोकिन्छ । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म चल्छ । इमर्जेन्सी अवस्थामाबाहेक अरू बेला चाहिँ बेलुका ६ बजेपछि बन्द हुन्छ ।’