काठमाडौं । चीन भ्रमणबाट फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीले पार्टी सभापति रवि लामिछानेलाई भ्रमणबारे ब्रिफिङ गरेको छ । पार्टी महामन्त्री तथा भ्रमण टोलीका प्रमुख विपिन कुमार आचार्यले शुक्रबार सभापति लामिछानेलाई भ्रमणका क्रममा भएका राजनीतिक भेटवार्ता, छलफल तथा अवलोकनबारे ब्रिफिङ गरेका हुन् ।
नोभेम्बर १५ देखि चीनका विभिन्न प्रान्त तथा सहर सिचुवान, चच्याङ र बेइजिङको भ्रमणमा गएको आचार्य नेतृत्वको २० सदस्यीय टोली बिहीबार नेपाल फर्किएको थियो ।
ब्रिफिङका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेता ली शुलेईसँग भएको उच्चस्तरीय भेटवार्ताबारे विशेष जानकारी गराइएको पार्टीले जनाएको छ । उक्त भेटसहित केन्द्रीय तहदेखि काउन्टी तहसम्मका नेताहरूसँग भएका संवादमा दुई पार्टीबीचको बहुआयामिक सम्बन्ध, आपसी राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासका क्षेत्रमा अन्तरपार्टी सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।
भ्रमणका क्रममा टोलीले विभिन्न उद्योग तथा व्यवसायको अवलोकन र अन्तरक्रिया गर्नुका साथै विपद्पूर्व तथा विपद्पश्चात् अपनाइने रणनीति, तयारी र व्यवस्थापनबारे पनि अध्ययन तथा छलफल गरेको थियो । त्यस क्रममा नेपाल–चीन द्विपक्षीय सहकार्यका सम्भावनाबारे समेत संवाद भएको महामन्त्री आचार्यले सभापति लामिछानेलाई जानकारी गराएका थिए ।
भ्रमणका क्रममा भएका राजनीतिक संवाद, अवलोकन र अनुभवलाई पार्टीभित्र तथा देश विकासका कार्यमा लागू गर्ने दिशामा अघि बढ्न सभापति लामिछानेले भ्रमण टोलीलाई निर्देशन दिएको लामिछानेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया