राष्ट्रपतिको भूमिका संविधान अनुकूल निष्पक्ष भएनः अध्यक्ष राणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर राणाले राजनीतिक दलभन्दा माथि रहने सस्ंथाले मात्र संविधान अनुकूल निष्पक्ष राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्ने बताएका छन् । प्रजातान्त्रिक मान्यता र संविधानको परिकल्पना बमोजिम पुरानो संस्था मात्र निष्पक्ष राष्ट्र प्रमुख रहन सक्ने भन्दै राणाले राजसंस्थाको आवश्यकता र जनचाहनातर्फ इंगित गरे । ‘अभ्यास,अनुभव र जनअपेक्षाले यही दर्शाउँछ,’उनले बिहीबार ट्वीट गर्दै भनेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको एमाले पक्षधरता संविधानको भावना विपरीत रहेको राणाको टिप्पणी छ । उनले भने,‘राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको एकता कायम राख्न पुनः सक्रिय हुनुभयो । यो सम्माननीय राष्ट्रपतिको स्वभाविक आचरण हो । एमालेमा हुर्केको व्यक्तिको कर्तव्य हो।’ उनले भने, ‘त्यसैले राष्ट्र प्रमुख दलको सदस्य हुनु हुन्न भन्ने प्रजातान्त्रिक मान्यता आवश्यक भएको छ। कुनै दलको पक्षपाती नहुने पुरानो संस्थाले मात्र संविधानले परिकल्पना गरेको निष्पक्ष राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्दछ। ’