काठमाडौं । प्रधानमन्त्री बालेन साहको हालै सम्पन्न भारतको राजकीय भ्रमणका क्रममा भएका सहमति, समझदारी तथा निर्णय कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायहरूसँग समन्वय सुरु गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजित नियमित पत्रकार ब्रिफिङमा प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिलाई कार्यान्वयनमा लैजान मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।
प्रधानमन्त्री साह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमण सम्पन्न गरी मंसिर ७ गते नेपाल फर्किएका थिए । भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित संयुक्त दृष्टिकोणपत्र (जोइन्ट भिजन डकुमेन्ट) लगायत विभिन्न विषयमा सहमति र समझदारी भएका थिए ।
प्रवक्ता क्षेत्रीका अनुसार ती सहमति र समझदारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गरिनेछ । कार्यान्वयनको प्रगतिबारे नियमित अनुगमन र फलोअपसमेत गरिने उनले बताए ।
चीनसँगको व्यापार सहज बनाउन मन्त्रालयको समन्वय
भोटेकोसी नदीमा आएको बाढीपछि अवरुद्ध रसुवागढी नाका सञ्चालन तथा नेपाल–चीनबीचको व्यापार र आवागमन सहज बनाउन परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार ठूला मालवाहक ट्रक तथा कन्टेनरका लागि तातोपानी–झाङमु नाका खुला गर्ने र अन्य नाकाबाट हुने आवागमन सहज बनाउने विषयमा सम्बन्धित सरकारी निकाय तथा चीन सरकारसँग छलफल भइरहेको छ ।
यसैविषयमा नेपाल–चीन व्यापारसँग सम्बन्धित निजी क्षेत्रका व्यापारिक तथा व्यावसायिक संघसंस्थाका प्रतिनिधिसँग मंसिर १० गते मन्त्रालयमा छलफलसमेत गरिएको थियो ।

प्रतिक्रिया