काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
विज्ञप्ति जारी गरी उनले कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गर्ने तथा तयार पारिएको कागज पढ्न बाध्य पार्ने काम भइरहेको भए त्यो विधिको शासनमाथिको गम्भीर प्रहार हुने बताएका छन् ।
हिरासतमा रहेका इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा उल्लेखित विवरणले गम्भीर प्रश्न उठाएको आङ्देम्बेको भनाइ छ ।
विज्ञप्ति
पछिल्ला केही दिनदेखि संञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आईरहेका विषयहरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा लगायत अन्य ब्यक्तिहरुलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिको मोवाईल अनधिकृत व्यक्तिले जफत गरेर दुरुपयोग गरी तयार पारेको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भइरहेको हो भने यो सामान्य विषय होइन । यो विधिको शासनमाथिको गम्भीर प्रहार हो ।
हिरासतमा रहेका इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले सार्वजनिक गरेका तथ्यहरूले गम्भीर प्रश्नहरू जन्माएका छन् । अनुसन्धानको नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत हो ।
प्रधानमन्त्रीज्यूबाट यसको स्पष्ट जवाफ आउँछ भन्ने अपेक्षा कमै छ । तैपनि प्रश्न गर्न चाहन्छु – सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ ? यदि यस्तो भइरहेको छ भने यो केवल राजनीतिक प्रतिशोध र षड्यन्त्रको विषय मात्र होइन, राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती हो । सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्छ ।
नेपाली कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनका लागि दशकौंदेखि लड्दै आएको पार्टी हो यसमा हाम्रो अडान अझै कायम छ । त्यसैले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गरियोस् । आरोपको सत्यतथ्य सार्वजनिक होस् र दोषी देखिए जोसुकै भए पनि कानुनबमोजिम कारबाही होस् । लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा होइन, न्याय सुनिश्चित गर्ने कानुन आवश्यक छ । राज्यसत्ता कसैको निजी प्रतिशोध साँध्ने औजार हुदै होइन। सरकार क्षणिक सनकमा होइन, संविधान र विधिको शासनमा चल्नुपर्छ भन्ने विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।
धन्यवाद ।
जय नेपाल !
भीष्मराज आङ्द्म्बे
नेता, प्रमुख प्रतिपक्षी
तथा
नेपाली कांग्रेस संसदीय दल ।

प्रतिक्रिया