काठमाडौं । सर्वोच्च अदालतका पूर्वमुख्य रजिष्ट्रार देवेन्द्रराज ढकालले पदीय हैसियतको दुरुपयोग गरी गरिएका भ्रष्टाचार तथा अनियमितताको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को संलग्नतामाथि प्रश्न उठाएका छन् ।
ढकालले सामाजिक सञ्जालमार्फत कुनै मन्त्री, सचिव वा कर्मचारीले पदीय हैसियतको दुरुपयोग गरी गरेको भ्रष्टाचार वा अनियमिततासम्बन्धी अनुसन्धानमा सीआईबी किन संलग्न भएको भन्ने आफूले बुझ्न नसकेको बताएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान नगरेका कारण सीआईबीले हस्तक्षेप गर्नुपरेको हो भने सरकार र संसद् अख्तियारको भूमिकाबारे किन मौन छन् भन्ने प्रश्नसमेत उनले उठाएका छन् ।
उनले भ्रष्टाचार अनुसन्धानको अधिकारक्षेत्र भएको निकायले अनुसन्धान नगरी अर्को निकायले जबर्जस्ती हस्तक्षेप गर्दा भविष्यमा अनुसन्धान तथा कारबाहीका प्रक्रिया अलपत्र पर्न सक्ने चेतावनी दिएका छन् ।
‘जसको अधिकारक्षेत्रको विषय हो, उसले छानबिन नगरी जबर्जस्ती अर्काले हात हाल्दा भोलि सबै कामकारबाही अलपत्र पर्न सक्छ। कसले जिम्मेवारी लिन्छ?’ ढकालले लेखेका छन् ।
उनले भनेका छन्, ‘कुनै मन्त्री, सचिव वा कर्मचारीले पदीय हैसियतको दुरुपयोग गरि गरेको भ्रष्टाचार वा अनियमितता सम्बन्धमा सीआईबी कताबाट घुस्यो बुझिनसक्नु छ । यदि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम नगरेका कारण सीआईबीले हात हाल्नु परेको हो भने सरकार र संसद अख्तियार बारेमा किन मौन छन् ? उनीहरुको निरिहता झन् बुझिनसक्नु छ । जसको अधिकारक्षेत्रको विषय हो उसले छानबिन नगरी जबरजस्ती अर्काले हात हाल्दा भोलि सबै काम कारबाही अलपत्र पर्न सक्छ। कसले जिम्मेवारी लिन्छ ? झन्झन् बुझ्यो झन् कठिन।’

प्रतिक्रिया