मानव अधिकार आयोगमा इनमको निवेदनः विभिन्न व्यक्तिविरुद्ध बयान दिन दबाब र धम्की दिइयो


काठमाडौं । आफूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर अज्ञात स्थानमा राखिएको तथा विभिन्न व्यक्तिविरुद्ध बयान दिन दबाब र धम्की दिइएको आरोप लगाउँदै इनम सापकोटाले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् । शुक्रबार इनम सापकोटाको तर्फबाट उनकी श्रीमती कविता पाण्डेले उजुरी दिएकी हुन् । उनले आफू र परिवारको जीवन रक्षा तथा घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

आयोगमा बुझाइएको निवेदनमा सापकोटाले असोज १४ गते बिहान करिब १०ः३० बजे अध्ययन तथा व्यावसायिक कामका लागि भारतको नयाँदिल्ली जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको दाबी गरेका छन् । बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँच क्षेत्रतर्फ अघि बढ्दै गर्दा आफूलाई पक्राउ गरिएको उनको भनाइ छ ।

उनका अनुसार नियन्त्रणमा लिएपछि दुईवटा मोबाइल फोन खोसिएको, आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा लगिएको र असोज १४ गतेदेखि १५ गते साँझसम्म पट्टी लगाएर राख्दै सोधपुछ गरिएको थियो ।

सोधपुछका क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर तथा सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध प्रमाण र बयान दिन दबाब दिइएको उनले आरोप लगाएका छन् ।

बयान दिन अस्वीकार गरे आफू र परिवारलाई समेत समस्यामा पार्ने तथा लामो समय जेल बस्नुपर्ने गरी झुटा मुद्दा लगाउने धम्की दिइएको निवेदनमा उल्लेख छ । केही व्यक्तिसँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको, कतिपय गुरु तथा शिक्षक रहेको र केहीलाई आफूले नचिनेको भन्दै उनीहरूबारे जानकारी नभएका विषयमा बयान दिन नसक्ने बताएको सापकोटाको दाबी छ ।

उनले बयान दिन अस्वीकार गरेपछि प्रहरीले तयार गरेको कागज पढ्न लगाइएको र आँखाको पट्टी केही माथि सारेर ठूलो स्वरमा पढ्न बाध्य पारिएको आरोप लगाएका छन् । पछि सोही कागजमा हस्ताक्षर गर्न दबाब दिइएको तर आफूले नजानेका र नगरेका काम उल्लेख भएको कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि पुनः नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली पु¥याइएको उनले बताएका छन् ।

निवेदनअनुसार असोज १६ गते बिहान करिब ८ः३० बजे हथकडी लगाएर उनलाई पानीपोखरी हाइट होम्स अपार्टमेन्टस्थित निवासमा खानतलासीका लागि लगिएको थियो । त्यसबेला घरमा श्रीमती, पाँच महिनाकी छोरी र अन्य आफन्त उपस्थित रहेको उल्लेख गर्दै उनले प्रहरीले विभिन्न कोठा खानतलासी गरी पुरानो ल्यापटप, फोन तथा केही कागजात लगेको दाबी गरेका छन् ।

खानतलासी तथा बरामद सामग्रीको मुचुल्का तयार गर्ने प्रक्रियामा पनि अनियमितता भएको उनको आरोप छ । विमानस्थलमै नियन्त्रणमा लिइएको फोन तथा सुटकेसबाट निकालिएको रकमलाई घरबाट बरामद भएको देखाउने प्रयास गरिएको र मुचुल्का तयार गर्दा श्रीमतीको हस्ताक्षर खाली पृष्ठमा पहिल्यै लिइएको उनले निवेदनमा उल्लेख गरेका छन् ।

सापकोटाले आफूलाई विमानस्थल बाहिर सार्वजनिक सडकमा महिलालगायत सर्वसाधारणमाथि अश्लील हर्कत तथा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको भनी अदालतमा प्रस्तुत गरिएको विवरणसमेत गलत रहेको दाबी गरेका छन् । आफू विमानस्थलको भित्री क्षेत्रबाट पक्राउ परेको भन्दै घटनाको पुष्टि गर्न सीसीटीभी फुटेज जाँच गर्न माग गरेको उनको भनाइ छ ।

त्यस्तै, आफ्नो साथमा रहेको अमेरिकी डलर तथा भारतीय रुपैयाँलाई आधार बनाएर विदेशी विनिमयसम्बन्धी कसुरमा मुद्दा चलाइएको र पछि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपसमेत थपिएको उनले बताएका छन् । कानुनबमोजिम राख्न तथा सटही गर्न सकिने विदेशी मुद्रा साथमा राखेको विषयलाई अपराधका रूपमा प्रस्तुत गरी आफूलाई थुनामा राख्ने प्रयास भएको उनको आरोप छ ।

आफूले नबोलेका तथा जानकारी नभएका विषयलाई बयानका रूपमा प्रस्तुत गरिएको भन्दै त्यससम्बन्धी अडियो सामग्री र अन्य घटनाबारे पछि आफन्त तथा प्रहरीबाट जानकारी प्राप्त भएको समेत उनले निवेदनमा उल्लेख गरेका छन् ।

उनले आफूविरुद्धका आरोप, पक्राउ प्रक्रिया, बयान तथा खानतलासीसम्बन्धी घटनाको निष्पक्ष छानबिन गरी मानव अधिकारको संरक्षण र आफ्नो तथा परिवारको जीवन रक्षाका लागि आयोगसँग आग्रह गरेका छन् ।