काठमाडौँ । नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले विस्थापित परिवारलाई अस्थायी आश्रयबाट समेत हटाउन खोज्नु संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गरेको हो ।
कांग्रेसले सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको, महिनौँसम्म अनिश्चिततामा राखेको र अहिले अस्थायी आश्रयबाट समेत हटाउन खोजेको भन्दै आलोचना गरेको छ ।
‘सरकारसँग कानुनको पालना गर्ने विवेक मात्र होइन, नागरिकको पीडा बुझ्ने करुणा पनि हुनुपर्छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ‘असहाय नागरिकप्रतिको सरकारको पछिल्लो व्यवहारमा त्यही करुणा र मानवीय संवेदनाको गम्भीर अभाव देखिएको छ ।’
राज्य नागरिकको अभिभावक भएको भन्दै घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व भएको कांग्रेसले जनाएको छ । उनीहरूको बाँकी रहेको आश्रयसमेत खोस्नु उचित नभएको पार्टीको ठहर छ ।
कांग्रेसले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन तथा विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ ।
भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गर्नुपर्ने कांग्रेसले जनाएको छ ।
बैठकले होल्डिङ सेन्टरको समन्वय तथा सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन् ।

प्रतिक्रिया