ओलीको प्रश्नः प्रधानमन्त्रीको भारत भ्रमणमा ईपीजी प्रतिवेदन र सीमा विवादको विषय किन उठेन ?


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन साहको भारत भ्रमणलाई निजी भ्रमणको संज्ञा दिँदै त्यसक्रममा उठाउनुपर्ने राष्ट्रिय मुद्दाहरू नउठाइएको टिप्पणी गरेका छन् । बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणको औचित्य र त्यसक्रममा भएका गतिविधिमाथि प्रश्न उठाएका हुन् ।

ओलीले प्रधानमन्त्री सहले नेपाली सेनाको गार्ड अफ अनर नलिएको तर भारत भ्रमणका क्रममा भारतीय सेनाको गार्ड अफ अनर लिएको भन्दै असन्तुष्टि जनाए । उनले प्रश्न गरे, ‘नेपाली सेनाको गार्ड अफ अनर नलिने तर भारतीय सेनाको लिने ?’

प्रधानमन्त्रीको भ्रमणमा नेपालको कुनै राष्ट्रिय एजेन्डा नरहेको दाबी गर्दै ओलीले त्यसलाई राजकीय भ्रमण भन्न नमिल्ने बताए । ‘प्रधानमन्त्री जाँदा देशको कुनै एजेन्डा थिएन । उहाँको निजी भ्रमण थियो, राष्ट्रिय र राजकीय भ्रमण भन्न सुहाउने थिएन,’ उनले भने ।

ओलीले भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धसँग जोडिएका महत्त्वपूर्ण विषयमा छलफल नभएको आरोपसमेत लगाए । विशेषगरी प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनबारे कुरा नउठाइएको भन्दै उनले प्रश्न गरे ।

उनले भने, ‘खै ईपीजी प्रतिवेदनका बारेमा कुरा गरेको ? ग्रेटर नेपालको नक्सा महानगरपालिकामा राख्नेले आमनेसामने हुँदा उठाउनुपर्ने होइन ?’

उनले वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशको चुनाव हुनुपर्ने बताए । पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिले पूरा कार्यकाल काम गर्न पाउनुपर्ने भन्दै संविधान मिच्ने छुट कसैलाई नभएको बताए ।

उनले भने, ‘प्रदेशको मध्यावधि हुन लागेको हो र ? मध्यावधि होइन भने त्यसको आफ्नो प्रक्रिया हुन्छ नि । लोकतन्त्रमा चुनाव गराउँदा खर्च भयो भन्ने कुरालाई कहाँ पुर्याउला ? देश आगो लगाइन्जेल खर्च भएन। चुनाव गराउनुपर्छ भन्दा खर्च हुन्छ भनेर हुन्छ ।’