काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन साहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् ।राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको जनाएको हो ।
नयाँ कार्यविभाजनअनुसार प्रधानमन्त्री साहले रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्ने भएका छन् । यसअघि रक्षा मन्त्रालयको जिम्मेवारी छुट्टै मन्त्रीलाई दिइएको थिएन ।
नयाँ मर्यादाक्रम अनुसार दोस्रो स्थानमा रहेका डा. स्वर्णिम वाग्लेलाई अर्थ, तेस्रो स्थानकी सोविता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला, चौथो स्थानका शिशिर खनाललाई परराष्ट्र र पाँचौँ स्थानका विराज भक्त श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ। गौतम यसअघि सातौँ स्थानमा रहेकी थिइन् ।
यसैगरी मन्त्रिपरिषद्को छैटौँ वरीयतामा रहेका सुदन गुरुङलाई गृह, सातौँ वरीयताका सुनिल लम्साललाई पूर्वाधार विकास तथा आठौँ वरीयतामा रहेका महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नयाँ मर्यादाक्रम अनुसार सीता बादीले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, प्रतिभा रावलले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निशा मेहताले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
त्यस्तै खडक राज पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. विक्रम तिमिल्सिनालाई सूचना तथा सञ्चार, गीता चौधरीलाई कृषि, वन तथा पर्यावरण, दिपक कुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति एवं रामजी यादवलाई युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी तोकिएको छ।


प्रतिक्रिया