अहिलेको खाँचो आफैँभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने हो, ‘वामपन्थी एकता’ को होइन


प्रदीप ज्ञवाली ।

कुनै संस्थागत निर्णय भएको थाहा छैन, तर मिडियातिर ‘वामपन्थी एकता’ को चर्चा सुरू भएछ । पहिलो त, आजको चुनौती वामपन्थी या कम्युनिस्ट आन्दोलनको दायरामा मात्र सीमित छैन । नेपालले लामो प्रयत्न पश्चात् आर्जेको प्रगतिशील लोकतान्त्रिक स्पेस नै साँघुरिँदै गएर सर्वसत्तावादी शासकीय शैलीतिर उन्मुख हुँदै गरेको, सामाजिक सुरक्षा र न्यायसहितको लोककल्याणकारी आर्थिक प्रणाली होइन, नवउदारवादी बजार स्वच्छन्दतातिर आर्थिक दिशा सोझिँदै गरेको र स्थापित विधि, कानुनी प्रणाली र लोकतान्त्रिक संस्थाहरूको ठाउँमा स्वेच्छाचारिता र ’तिलस्मी नायक’ हरूले जादुमयी ढङ्गले सुनौला दिन ल्याइदिने विभ्रमले समाजको ठुलै हिस्सा प्रभावित भएको समयमा हामी छौँ ।

त्यसैले सङ्कटलाई फराकिलो क्यानभासमा राखेर हेरिनु पर्छ र तदनुरूपकै नीति अवलम्बन गरिनु पर्छ । अर्को, यतिबेला वामपन्थीहरू सहित सबै पार्टीहरू समीक्षाको प्रक्रियामा छन् । धक्का एमालेले पनि खाएको छ, दर्जन बढी समूह ‘एकीकृत’ गरेर बनेको नेकपाले पनि । ‘विद्रोह’ गरेर बनेका संयुक्त या प्रलोपाहरूले पनि । समस्या एउटै छैन र समाधानको रेसिपी पनि एउटै हुन सक्दैन ।

यस्तो अवस्थामा पहिलो कदम भनेकै सङ्कटको गांभीर्यबोध, निर्मम आत्मसमीक्षा र व्यापक सुधार÷पुनर्गठनको विधिवत् प्रक्रिया अगाडि बढाउनु हो । पहिले आफू तङ्ग्रिएपछि मात्रै सार्थक विमर्श र विषयगत सहकार्यको अर्थ हुन सक्छ । अन्यथा यस्ता छलफल या त बौद्धिक विलासितामा सीमित हुन्छन्, या आफ्नो घरभित्रका समस्या छिमेकतिर सारिदिने दाउपेचमा रूपान्तरित हुन जान्छन् । अहिलेको खाँचो आफैँभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने हो ।